डब्ल्यूएफटीयू स्थापना दिवसमा विविध कार्यक्रम


काठमाडौं, (नेस) ।

विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्ल्यूएफटीयु) को ७४औं स्थापना दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डब्ल्यूएफटीयूका नेपाल संयोजक एवं प्रेसिडेन्सिल काउन्सील सदस्य प्रेमलकुमार खनालले महासंघले साम्राज्यवाद, पुँजीवाद, फाँसीवादको विरोध गर्ने र श्रमिकको हक अधिकारका लागि संघर्ष गर्दै आएको बताउनुभयो। डब्ल्यूएफटीयूको पहल र नेतृत्वमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले पारित गरेका श्रम अधिकार कार्यान्वयनमा आएको उहाँको भनाइ थियो।

कार्यक्रममा पेसागत महासंघ नेपालका महासचिव विष्णुप्रसाद लामिछाने, राष्ट्रिय सभाका सांसद उदया शर्मा, क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव मेघबहादुर खत्रीले नेपाली श्रमिकले भोग्दै आएका समस्या र उपलब्धिका बारेमा चर्चा गर्नुभयो। त्यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव भरत ढकाललगायतले शुभकामना व्यक्त गर्नुभयो।

‘नव फाँसीवाद, जेनोफोवीया र जातीवादको विरोध गरौं’ भन्ने मूलनाराका साथ विश्वभर अक्टोबर ३ तारिखमा यो दिवस मनाइएको हो। नेपालबाट विभिन्न सातवटा टे«ड युनियन महासंघ डब्ल्यूएफटीयूमा आवद्ध छन्।

विश्व ट्रेड युनियन महासंघ समन्वय समितिको आयोजनामा यही असोज ७ र ८ गते काठमाडौंमा एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले ९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ।