५१ लाख ठगेर नेपाल फरार


सञ्जय कार्की, रौतहट ।

गिट्टीजन्य पदार्थको ढुवानीकर्ता बताउने काठमाडौं कागेश्वरीमनहरा नगरपालिका निवासी राजकुमार नेपालले रौतहटका दर्जनौं व्यवसायीको रकम ठगेर फरार भएका छन्।

दुई वर्षदेखि रौतहटको चन्द्रनिगाहपुरलाई कार्यथलो बनाएका नेपालले व्यवसायीबाट जेसीबीको भाडा रकम, होटलमा खाना र बास, नगद सापटी, ट्रिपरमा इन्धन राखेको, उधारोमा मोटरको पार्टस खरिद गरेको, ट्रिपरका लागि उधारोमा टायर खरिदेलगायतका रकम ठगेर फरार भएका छन्।

उनले २० जनाभन्दा बढी व्यवसायी बाट ५१ लाख भन्दा बढी ठगेर फरार भएका छन्। रकम ठगेर फरार भएका नेपाल विरुद्ध इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको छ।

प्रहरी नायब उपरीक्षक कबित कटुवालले पीडित व्यवसायीको जाहेरी दर्ता भई फरार नेपालको खोजी कार्य भइरहेको बताउनुभयो।व्यवसायीको रकम लिएर सम्पर्कविहीन बनेका नेपालले ना७ख ३८३७, ना६ख ७२३६, ना७ख २२८९, ना७ख २१६४ नम्बरको ट्रिपरसहित

गिट्टीजन्य पदार्थको ढुवानी गर्दै आएका थिए। सोही ट्रिपरबाट व्यवसायीसँग कारोबार गर्ने भन्दै रकम ठगेको आरोप व्यवसायीको रहेको छ।
सम्पर्कविहीन बनेका नेपालले चन्द्रनिगाहपुरका व्यवसायी शेष अनबारुलको ११ लाख, त्रिशुली होटलको खाना र नगद सापटी गरी २ लाख १० हजार, चन्डिका आयल स्टोर्सको ४ लाख ५० हजार, माधव भट्टराईको १ लाख, नवीन लामाको ५ लाख १५ हजार, अमर लामाको ५ लाख ५० हजार, अधिकारी मोटरपार्टसको ९४ हजार, चौधरी इन्टरप्राइजेजको १ लाख ९२ हजार, सीता श्रेष्ठको होटलको खाना खाएबापतको ३३ हजारलगायतका व्यवसायीबाट रकम ठगेर फरार भएका छन्।

पीडित शेष अनबारुलले भने कारोबार गर्ने भन्दै नेपालले आफूलगायतका व्यवसायीको रकम ठगेर फरार भएपछि पीडित भएकाले सञ्चारकर्मीसँग हार गुहार गर्दै न्याय दिलाइदिन भनेका छन्। नेपालले चन्द्रनिगाहपुरका व्यवसायीका अलावा गरुडा, गुजरा नगरपालिका र बारा जिल्लाको निजगढका व्यवसायीको समेत रकम ठगेका छन्।