सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम


काठमाडौं, नेस ।

नेपाल प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम देशको ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भएको छ। कार्यक्रम सञ्चालन भएको १० महिनाको अवधिमा स्थानीय तहका ६ हजार ३ सय ३२ वटा वडा, ७ हजार ९ सय ४४ टोल र ८ हजार ७ सय ७१ वटा विद्यालयमा समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीर्घकालीन समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न स्थायी संयन्त्र निर्माण गर्ने मुख्य उद्देश्यसहित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अगाडि सार्नुभएको थियो। समाजमा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यसहित सञ्चालन भएको कार्यक्रमले सकारात्मक प्रभाव पारेको नागरिकले बताएका छन्।

काठमाडौं जेभियर्स पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल एवं समुदाय–प्रहरी साझेदारी संयोजकका संयोजक आरबी अधिकारीले कार्यक्रम शुरू भएको १० महिनाको अवधिमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘लागूपदार्थ दुव्र्यसनी र कुलतबाट जोगिन प्रहरीले प्रदान गर्ने सचेतनाको कार्यक्रम निकै प्रभावकारी छ।’ कार्यक्रम सञ्चालन भएसँगै बालबालिकालाई कुलतबाट जोगाउने उपाय झन् उपयोगी भएको उहाँले बताउनुभयो। कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई प्रहरीले जनचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थानीय तहमा निहित सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यमबाट अपराध नियन्त्रण र रोकथाम गर्ने उद्देश्यका साथ प्रहरीले समुदाय–प्रहरी साझेदारीको अवधारणा अगाडि सारेको थियो। प्रहरी र स्थानीय तहबीच समझदारी कायम गरी साझा संयन्त्रहरूको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले भन्नुभयो– ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने आपराधिक घटनामा कमी आएको छ, समुदायबाट प्रहरीलाई समयमा नै सूचना प्राप्त हुँदा सम्भावित अपराधलाई समेत रोक्न सफल भएका छौं।’

गत कात्तिक ११ गते समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको थियो। १० महिनाको अवधिमा उल्लेखनीय प्रगति भएको बताउँदै महानिरीक्षक खनालले देशको सबै स्थानीय तह, वडा र टोलटोलमा समिति गठनमार्फत दीर्घकालीन संरचना निर्माण गर्न सफल भएको बताउनुभयो।

लैंगिक हिंसा नियन्त्रण सञ्जाल काठमाडौंकी कोषाध्यक्ष रसना ढकालले समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाको घटना न्यूनीकरण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम फलदायी भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘समाजमा फरक–फरक खालका घटना हुने गरेका छन्, प्रहरीसँग सहकार्य गरेर हामीले समयमा नै प्रहरीलाई सूचना दिएर सहयोग गरिरहेका छौं।’

कार्यक्रम विद्यार्थीका लागि प्रभावकारी बनेको अभिभावक र शिक्षकले बताएका छन्। कार्यक्रमअन्तर्गत ४१ हजार ९ सय ५५ जना विद्यार्थीलाई कुलतबाट बच्ने उपाय र समुदायप्रतिको दायित्वका बारेमा प्रहरीले सचेतना दिएको छ। २२ हजार शिक्षक–शिक्षिका, १५ हजार अभिभावकलाई समुदाय साझेदारीको अवधारणाअनुरूप समाजमा हुने आपराधिक घटना नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल राष्ट्रिय अभिभावक संघ जिल्ला कार्यसमितिका सदस्य एवं समुदाय–प्रहरी साझेदारी काठमाडौं महानगरपालिकाका सदस्य नाराबहादुर रानाभाटले कार्यक्रमले समाजमा नै धेरै परिवर्तन ल्याएको बताउनुभयो। ‘समाजमा हरेक घटना कसरी घट्छ, कसरी शुरूआत हुन्छ भन्ने जागरण पैदा गराएको छ’, उहाँले भन्नुभयो– ‘स्थानीय तह, समुदाय, विद्यालय अभिभावक र विद्यार्थीलाई सचेत बनाउने काम गरेको छ, यो राम्रो उपलब्धि हो।’

प्रहरीले समुदायसँगको सहकार्यमा अगाडि बढाएको सचेतनामूलक कार्यक्रमले समाजमा हुने अपराधको घटनामा कमी आएको अनुभूति गरेको बताउँदै रानाभाटले अपराध लुकाउने होइन समयमा नै प्रहरीलाई जानकारी गराउनुपर्छ भन्ने जागरण पनि यस कार्यक्रमले ल्याएको बताउनुभयो। ‘अपराध नियन्त्रणसँगै सम्भावित आपराधिक क्रियाकलाप रोक्न पनि समुदायबाट प्रहरीलाई सूचना जाने क्रम बढेको छ, समुदाय–प्रहरी साझेदारी कार्यक्रमलेध शान्ति सुरक्षालाई प्रभावकारी बनाउन मद्दत गरेको छ।’ –उहाँले भन्नुभयो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले ७७ वटा जिल्लाका ७ सय ५३ वटै स्थानीय तहसँग एमओयू गरेको छ।