जनताको सहभागिता बिना विकासका कामले गति लिन सक्दैन: मन्त्री अर्याल


न्युज अफ नेपाल, स्याङ्जा ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले राजनीतिक लडाईं सकिएकाले अब समृद्धिको लडाईं लड्नुपर्ने बताउनुभएको छ । सदरमुकाममा वडादशैँ र दिपावलीको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजनीतिक लडाईंमा सँगै लडेका दल अब समृद्धिको लडाईंमा पनि सँगसँगै लड्नुपर्ने बताउनुभयो ।

मन्त्री अर्यालले अब समाजवादको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो । “जनताको सहभागिता बिना विकासका कामले गति लिन सक्दैन”, उहाँले भन्नुभयो, “जनताको चाहना र सहभागितामा मात्रै विकासका गतिविधि सञ्चालन गर्नुपर्छ ।” विकासका लागि जनताको संलग्नता हुनुपर्ने भन्दै उहाँले जबसम्म विकास निर्माणका कामका लागि जनभावनाको विकास हुँदैन तबसम्म जति सरकार परिवर्तन भए पनि विकासले गति लिन नसक्ने उहाँको भनाइ थियो ।