‘खसी पुरस्कार’ मा प्रतिवन्ध लगाउन माग


न्युज अफ नेपाल, हेटौंडा ।

दशैंको अवसरमा आयोजना गरिँदै आएका फुटबल प्रतियोगिताहरुका विजयी टिमलाई परस्कारस्वरुप खसी प्रदान गर्ने क्रम चलेपछि प्रदेश–३ मा ‘खसी पुरस्कार’ राखेर गरिने प्रतियोगिता गर्न नदिन आग्रह गरिएको छ ।

यसका लागि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेललाई आग्रह गरिएको हो । सहयोगी मन नेपाल हेटौंडाले मन्त्री जमकट्टेललाई ज्ञापनपत्र बुझाउँदै एउटाको उत्सवमा अर्काको ज्यान जाने काम भएको भन्दै यस्ता प्रतियोगितामा प्रतिवन्ध लगाउन माग गरेको हो ।

प्रतियोगितामा विजेताले खुशी मनाउँदै गर्दा अर्कोतर्फ निर्दोष प्राणीको ज्यान जाने भएका कारण यस्ता प्रतियोगिता गर्न नहुने सहयोगी मन नेपालको धारणा छ । मन्त्री जमकट्टेलले आफूहरु यस विषयमा गम्भीर भएको बताउनुभएको थियो ।

सहयोगी मन नेपाल अध्यक्ष केदार चौलागाईंले प्राणीको स्वतन्त्रापूर्वक बाँच्न पाउने अधिकार रक्षा गर्नेतर्फ मन्त्री जम्कट्टेल सकारात्मक रहनुभएको बताउनुभयो । कार्यक्रममा संस्था उपाध्यक्ष दीपक तिवारी, संरक्षण पूर्णभद्र चौलागाईं, निजानन्द प्रतिष्ठान अध्यक्ष श्रीराम खतिवडा तथा जनप्रिय मावि पूर्वअध्यक्ष रमेश खतिवडालगायतको सहभागिता थियो ।