डब्ल्यूएफटीयू स्थापना दिवसमा विविध कार्यक्रम


न्युज अफ नेपाल, काठमाडौं ।

विश्वका प्रगतीशील एवं समाजवादी श्रमिकको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्ल्यूएफटीयू ) को ७४औं स्थापना दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डब्ल्यूएफटीयूका नेपाल संयोजक एवं प्रेसिडेन्सिल काउन्सील सदस्य प्रेमल कुमार खनालले महासंघले साम्राज्यवाद, पुँजीवाद, फाँसीवादको विरोध गर्ने र श्रमिकको हक अधिकारका लागी संघर्ष गर्दै आएको बताउनुभयो ।

डब्ल्यूएफटीयूको पहल र नेतृत्वमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले पारित गरेका श्रम अधिकार कार्यान्वयनमा आएको उहाँको भनाई थियो ।

कार्यक्रममा पेशागत महासंघ नेपालका महासचिव विष्णु प्रसाद लामिछाने, राष्ट्रिय सभाका सांसद उदया शर्मा, क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिब मेघ बहादुर खत्रीले नेपाली श्रमिकले भोग्दै आएका समस्या र उपलब्धीका बारेमा चर्चा गर्नु भयो । त्यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिब भरत ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

‘नव फाँसीवाद, जेनोफोवीया र जातीवादको विरोध गरौं’ भन्ने मूलनाराका साथ विश्वभर अक्टोबर ३ तारिखमा यो दिवस मनाइएको हो । नेपालबाट विभिन्न सातवटा ट्रेड युनियन महासंघ डब्ल्यूएफटीयूमा आवद्ध छन् । विश्व ट्रेड युनियन महासंघ समन्वय समितिको आयोजनामा यही असोज ७ र ८ गते काठमाडौंमा एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको छ ।