‘ब्यक्तिको गल्ति पार्टीले बोक्दैन’–मन्त्री बास्कोटा


मोतीराम तिमल्सिना, काभ्रे ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सम्मान र चरित्र सहितको कम्युनिष्ट पार्टी भएकाले ब्यक्तिले गरेका स्वभावजन्य गल्ति पार्टीले नबोक्ने बताउनु भएको छ । पार्टी एकिकरणको प्रकृया शुरु भएकाले जिल्लाका सबै तह र वडा स्तरीय कमिटीहरुको गठन दशै सकिए लगत्तै शुरु हुने मन्त्री बास्कोटाले बताउनु भयो ।

नेकपा काभ्रेको इन्चार्ज समेत रहनु भएका मन्त्री बास्कोटाले पार्टी एकिकरणको काम नसकिँदा सरकारले गरेका गतिविधिहरुका बारेमा जनतालाई भन्न समेत असहज भएको बताउँदै कमिटीले पुर्णता पाए सँगै पार्टीका काम र जनतासँग जोडिने विषयमा केन्द्रित हुने उहाँले बताउनु भयो । नेकपा बनेपा नगर कमिटीको आयोजनामा बनेपामा आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले उक्त धारणा ब्यक्त गर्नु भएको हो । ‘भ्रष्टाचार, हुलहुज्जतका बारेमा पार्टीले जिम्मेवारी लिदैन, ब्यक्तिले गर्ने अपराध र चरित्रका बारेमा पार्टी जिम्मेवार हुँदैन’–मन्त्री बास्कोटाले निर्देशन दिदै कार्यकर्ताहरुलाई भन्नुभयो–‘पार्टीका सबै कार्यकर्ताहरुले योजनाका नाममा होस् वा अन्य कुनै काममा होस् भ्रष्टाचार गर्ने सोच नराख्नुस् राख्नु भयो भने कारवाही हुनेछ ।’

सहमति र विधीबाट पार्टीको एकिकरण टुङ्गयाउने बताउँदै मन्त्री बास्कोटाले पार्टी एकतासँगै पार्टी भित्र रहेका मतान्तर कम हुँदै जाने बताउनु भयो । जिल्लाको समृद्धका लागि ठुला ठुला परियोजना संचालन भईरहेको बताउँदै बनेपा नगर भित्रको पुण्यमाता करिडोरको निर्माण, खानेपानी, शिक्षामा आधुनिकिकरण लगायतका योजनामा रकम विनियोजन गरी कार्य शुरु गरेको मन्त्री बास्कोटाले बताउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य गोमा भुर्तेल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नेकपा नेताहरु कुमार तिमल्सिना, हरिदेव गिरी, भैैरव कसी, रत्नकुश रञ्जितकार, मुक्ति विष्ट लगायतले नेकपाका कमिटीहरु सक्रिय हुँदा जनतासँग जोडिन सहज हुने बताएका थिए । जनप्रतिनिधिले गरिरहेका कामहरु जनताका बीचमा लैजान पनि पार्टी कमिटीहरु सक्रिय हुनु पर्ने सहभागिहरुले बताएका थिए ।

चियापान कार्यक्रममा नेकपा बनेपा तथा आसपासका नेता तथा कार्यकर्ताहरु सहभागि थिए । नेकपा जिल्ला कमिटी काभ्रेमा पार्टी एकिकरण भए पनि सपथ हुन सकेको छैन । आगामी कार्तिक २ गतेलाई सपथ गराउने गरी सहमति भएको मन्त्री बास्कोटाले बताउनु भयो ।