नवाङको उपचारमा ७ लाख ४० हजार संकलन


मोेतीराम तिमल्सिना, काभ्रे ।

महाभारत गाउँपालिका वडा नम्वर १ गोकुले घर भई ललितपुरको इमाडोलमा बस्दै आएका १५ बर्षिय बालक नवाङ मोक्तानको ब्लड क्यान्सर पछि उपचारमा आर्थिक अभाव भएको भन्दै नवाङ मोक्तान बचाउन गठन गरिएको समितिले संकलन गरेको रकम सार्वजनिक गरी पीडितलाई हस्तान्तरण गरेको छ ।

स्थानीय विछोड जिम्बाको संयोजकत्वमा ११ सदस्यिय समिति गठन भएको थियो । उक्त समितिले संकलन गरेको ७ लाख ४० हजार ९ सय २२ रुपैया मध्ये पहिलो चरणमा २ लाख रुपैया पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो भने दोश्रो चरणमा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको प्रमुख आतिथ्यतामा बनेपामा पत्रकार सम्मेलन गरी ५ लाख २६ हजार ३ सय ६७ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

‘युवाहरुले रकम संकलन मात्रै गर्दैनन अथार्त अन्य कामका लागि मात्रै सहयोग उठाउँदैनन, एउटा ब्यक्ति त्यसमा पनि बालकको ज्यान बचाउने अभियानमा पनि योगदान पु¥याउन सक्छन भन्ने सन्देश नवाङ मोक्तान बचाउ अभियान समितिले देखाएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘युवाहरुको सकारात्मक सोच र कदमले एक बालकको ज्यान बचेको छैन, सिङ्गो महाभारत र जिल्लाभरी सकारात्मक सन्देश दिन सकेको छ ।’ अध्यक्ष जिम्बाले महाभारत गाउँपालिका भित्र यस्ता बालबालिकाहरुको उपचारमा कठिन भएको भन्दै तीनै तहका सरकारले यस्तो गम्भिर प्रकृतिका विरामीको उपचारलाई प्रदान गर्ने एक लाख रुपैया बढाउनु पर्ने बताए । सोहि अवसरमा नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रेका अध्यक्ष सन्दिप केसीले ५ हजार ५ सय ५५ रुपैया हस्तान्तरण गरेका थिए ।

समितिको सदस्य सचिव भिम जिम्मा रहेका छन् । समितिले संकलन गरेको रकम कृषि विकास बैकको चल्ति हिसाव नम्वर ०२–१२६–१२६–०१४८७२१९–०१–४ मा जम्मा गरी नवाङ र उनका बाबु ज्ञानबहादुर मोक्तानलाई हस्तान्तरण गरेका हुन् । खाता खोलेकै दिन समिति मार्फत २०७६ साउन २५ गते १ लाख ८० हजार रकम महाभारत गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र समाजसेवीहरुबाट जम्मा गरी हस्तान्तरण गरिएको थियो ।

नवाङको उपचार भईरहेको र स्वास्थ्य पनि सुधार हुँदै गएको उनका बाबु ज्ञानबहादुरले बताउनु भयो । उपचार सकिँदासम्म १५ लाख भन्दा धेरै खर्च हुने बाबु ज्ञानबहादुर मोक्तानले बताउनु भयो । पत्रकार सम्मेलनमा स्थानीय, जिल्ला, देश र विदेशबाट संकलित रकमका बारेमा जानकारी गराईएको थियो । सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष सन्दिप केसी, अभियानका संयोजक विछोड जिम्बा, रेशम योञ्जन लगायतले अभियानका क्रममा भएका गतिविधिहरु जानकारी गराउँदै नवाङ जस्तै अन्य बालबालिकाहरुको समस्या परेमा पनि एकजुट हुनु पर्ने बताए ।

कक्षा १० मा अध्ययनरत नवाङको आमाको दुई वर्ष अघि महाभारत जाँदै गरेको सवारी साधन दुर्घटना हुँदा निधन भएको थियो । दुई सन्तान मध्ये नवाङ जेठो हुन् । बाबु ज्ञानबहादुर काठमाडौमै मिनि ट्रक चलाउँदै आएका छन् । मजदुरी गरिरहेका ज्ञानबहादुरले छोरालाई बचाउन आर्थिक सहयोगका लागि अनुरोध गरेका थिए ।

अझै उनको उपचारका लागि रकम पुगेको छैन । नवाङका लागि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले एक महिनाको तलब हस्तान्तरण गरेका थिए भने वडा अध्यक्ष मिनबहादुरले २० हजार सहयोग गरे । महाभारत कन्ट्रक्सनको तर्फबाट सुजन लामा-तस्विर मोक्तानले ३५ हजार सहयोग गरेका थिए । कर्मचारी, शिक्षक तथा स्थानीयहरुले पनि नवाङकोे उपचारका लागि सहयोग गरेका छन् ।