भारतसंग जोडिएका सबै नाका ४८ घण्टा सील


किरन धामी, दार्चुला ।

भारतसंग जोडिएका दार्चुला सबै नाका विहीबारबाट तीन दिन (४८ घण्टा) का लागी सील गरिएको छ । विहीबार विहान ८ बजे देखी असोज १८ गते साँझ ५ बजेसम्मका लागी भारतसंग जोडिएका दार्चुलाका सबै नाका सील गरिएको हो । भारतको त्रिस्तरीय पञ्चायत सामान्य निर्वाचन २०१९ अन्र्तगत प्रथम चरणमा अक्टुबर ५ तारेख (असोज १८ गते) देखी पिथौरागढ जिल्लाको विण, मुनाकोट तथा कानालीछिनामा विहान ८ बजे देखी साँझ ५ बजेसम्म हुने मतदानको निर्धारित समय देखी ४८ घण्टाका लागी नाका सील गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

दार्चुलाका भारतसंग जोडिएका लाली, जौलजिवी, दत्तु र तिगरममा रहेका पुलहरु विहीबार साँझ ५ बजे देखी बन्द गरिने तथा जिल्ला सदरमुकाम खलंगामा रहेको पुल विहीबार ८ बजे देखी बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । चुनावको लागि सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै सिमानाकाहरु सील गर्न भारतिय प्रशासनले नेपाली प्रशासनलाई पत्र पठाएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो ।

यसैविच अक्टुबर १६ तारिख (असोज २८ गते) तृतिय चरणमा भारतको धारचुला, मुनस्यारी तथा डीडीहाटमा हुने चुनावलाई मध्यनजर गरी असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म बन्द हुने पत्रमार्फत नेपाली प्रशासनलाई जानकारी दिएको उहाले बताउनुभयो । सील गरिएका नाकाहरु आकस्मिक रुपमा खेल्नु परेमा दुवै पक्षको समन्वयमा खेल्न सकिने उहाले बताउनुभयो । चाडपर्वका बेला भारतमा चुनाव हुनु तथा आम नागरिक सम्म सुचनाको सहज पहुँच नहुँदा सिमानाकामा नेपाल भित्रिने तथा नेपालबाट भारत जाने नागरिक भने अलपत्र परेका छन् ।