द्वन्द पीडित सुद्रभालाई सहयोग

मेयर महतको प्रतिबद्धता कार्यान्वयन,बषौंपछि दशैं आयो सुभद्राको घरमा


कृष्णउदास खनाल, हेटौंडा ।

बिहीबार बिहान हेटौंडाको मौसम चिसो नै थियो,हेटौंडा ९ कि सुभद्रा दर्नाल अघिपछि जस्तै आफ्ना छोराहरुको घरमा राखेको सानो फोटोमा पूजा गर्दैै छोराहरुलाई पानी दिँदै केही जप गर्दै थिइन् । उनको घरमा खाद्य सामग्री सहित हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको टोली पुग्यो ।

बषौंसम्म चाडवाडमा रोएर बसेकी सुभद्राको खुसी फर्किदा हर्षको सीमा रहेन ।मुलुकमा दुई खालका आन्दोलनका क्रममा आफ्ना चार जना छोरा गुमाएकी हेटौंडा ९ की सुभद्रा दर्नालको घरमा यस भन्दा अगाडिका धेरै चार्ड पर्व खान र लाउनकै पीडामा बिते । अनि छोरा गुमाउँदाको थप पीडा पनि त्यतीकै । घरमा बिहान बेलुकाको छाक टार्न पनि धौ धौ । त्यसमा पनि उहाँको बिरामीले थलीएको बृद्ध शरिर । बिहीबार एक्कासी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत दशैका लागि सामान बोकेर घरमा पुग्दा उहाँका आँखा समेत रसाए । झुप्रो घरमा बस्दै आउनुभएकी दर्नालको घरमा मेयर महतले खाद्यान्नका सामान, दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नुन, मसलाहरु ल्गायतका सामान मेयर महतले हस्तान्तरण गर्नुभयो ।

दशैमा लगाउनका लागि उहाँ र उहाँका नातीनीलाई कपडा, दशै, तिहार मान्नका लागि नगद रकम समेत मेयर महतले हस्तान्तरण गर्नुभयो । मुलुकको परिवर्तनका लागि छोरा गुमाएपनि बषौ देखि उहाँलाई धेरै खालका अभावनै अभाव थियो । तर, स्थानीय सरकारले आफ्नै घरमा आएर सहयोग गरेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्नो चार भाइ छोरा गुमाउन पुगेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ की ७० बर्षीया सुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको हो ।

आफ्नी १८ बर्षीयाा नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्वासी बस्तीमा बस्दै आउनु भएकी सुभद्रलाई मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको ब्यवस्था मिलाइने प्रतिबद्धता जनाउनु भएको हो । यीनै आमाहरु जस्ता छोराहरुकै बलिदानीमा आफूहरु स्थानीय सरकारको प्रमुख भएका कारण शहिद परिवारका बलिदानीको आफूहरुले उपेक्षागर्न नसक्ने मेयर महतले बताउनुभयो । उहाँले आमा सुभद्राको बस्ने, खाने सहित औषधी उपचारको समेत ब्यवस्था आफूले गरिदिने र नातिनीका लागि जिविकोपार्जनका लागि पनि सहयोग गर्ने बताउनुभएको छ ।

एकाबिहानै खानेकुरा लिएर मेयर आफ्नो घरमा आउदा आफ्नै छोराहरु आएको जस्तो आफूलाई अनुभूति भएको सुभद्रा दर्नालले नेपाल समाचारपत्रसँग बताउनुभयो । आफ्नो बुवाहरु नै घरमा आएर आफुहरुलाई नयाँ कपडा दिएको जस्तो आफूलाई लागेको नातिनी अस्मिसा दर्नालको भनाइ छ ।सुभद्रा दर्नालले झेल्न परेको पीडाको समाचार नेपाल समाचारपत्रमा प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहदुर महतले चासो दिँदै सहयोग गर्नु भएको हो ।