दशैं सस्तो बजारमा उपभोक्ताको निकै भिडभाड


यमलाल भुसाल, बुटवल ।

बुटवल उद्योग बाणिज्य संघले बुटवलमा सञ्चालन गरेको दशैं सस्तो बजारमा उपभोक्ताको निकै भिडभाड बढेको छ ।
बुधबार मात्रै १५ लाखको कारोवार भएकोमा विहिवार अपरान्हसम्म थप १० लाखको कारोवार भएको छ ।

दशैं सस्तो बजारमा ३० वटा स्टल रहेको र ती स्टलमा सरदर ५० हजार रुपैंयाका दरले सामान खरिद बिक्रि भईरहेको दशैं सस्तो बजार समितिका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकालले जानकारी गराउनु भयो । दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुमा उपभोक्ताको भिड छ । त्यस्तै नयाँ नोट साट्नकालागि पनि सर्वसाधारणको भिड बढेको छ ।

नेपाल राष्ट्र बैंकको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ । संघले दैनिक प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाका दरले २ सय जनालाई नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ भने बुधबार ३ सय जनालाई नयाँ नोट सटही गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । नयाँ नोट सटहीकालागि ग्लोवल आईएमई बैंकले सहयोग गरेको छ ।

दशैं सस्तो बजारमा मंगलबारदेखि छपियाको माछा बिक्रि वितरण गरिएको छ भने बुधबारदेखि जुम्लाको स्याउ समेत बिक्रि वितरण गरिएको छ । त्यस्तै लोकल कुखुरा, टर्की, कुखुराको अण्डा समेत सुलभ मुल्यमा बिक्रि वितरण गरिएको छ ।

दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्ले चिनी नुन, डिडिसीले दुग्धजन्य उत्पादन तथा अन्य स्टलहरुमा तेल, चिया, साबुन, मसला लगायतका दैनिक उपभोग्य बस्तुहरुको सुलभ मुल्यमा बिक्रि वितरण भईरहेको बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराईले जानकारी गराउनु भयो । उहाँले दशैं सस्तो बजारमा राखिएका सामग्रिहरु सस्तो मात्रै नभएर गुणस्तरीय पनि भएकाले संघले सञ्चालन गरेको बजारको फाईदा लिन सबैलाई आग्रह गर्नुभयो ।

यहि असोजको १२ गते घटस्थापनादेखि सुरु भएको दशैं सस्तो बजार यहि असोजको १७ गते शुक्रवार सम्म सञ्चालन हुने छ ।