नेकपा पर्वतको शुभकामना अदानप्रदान कार्यक्रम , देशलाई सम्बृद्ध बनाएरै छाड्ने अठोट


न्युज अफ नेपाल, पर्वत ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको आयोजनामा शुभकामना आदनप्रदान कार्यक्रम बिहीबार कुस्माबजारमा सम्पन्न भएको छ ।
बिजयादशमी, दिपावली र छठ लगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपाको सरकारले देशलाई सम्बृद्ध बनाएरै छाड्ने अठोट गरेका छन ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत इन्र्चाज गुप्तबहादुर हमाल ठकुरीले देशलाई सम्बृद्ध बनाउनका लागि सरकारले दिर्घकालिन योजनाहरु अघि सारेको चर्चा गर्नुभयो । ‘देशलाई सम्बृुद्ध बनाउनका लागि दिर्घकालिन योजना सहित सरकार अघि बढेको छ’ उहाँले भन्नुभयो ‘सरकारका योजनाबाट अत्तालिएका बिपक्षी तथा पुरातनवादी सोच भएकाहरले केही कम्जोरी देखाएर सरकारलाई नै असफल बनाउने कुचेष्टा गरेका छन’ देशलाई आर्थिक हिसाबले सम्बृद्ध नबनाउँदा सम्म संबिधान समेत कार्यान्वयन हुन नसक्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले सरकारले राष्ट्रिय स्वाधिनता सहितको सबल अर्थतन्त्र निर्माणका लागि महत्वपुर्ण उपलब्धी हासिल गरिसकेको छ भन्नुभयो । उहाँले यो सरकार पाँच बर्ष चल्ने भएकाले झिना मसिना बिषयमा सरकारलाई बद्नाम गराउन खोज्नेहरुलाई सम्बृद्ध नेपाल निर्माण गरेर मुखभरीको जवाफ दिइनेछ भन्नुभयो । ‘हामीलाई जनताले दिएको अभिमत अनुसार नै देशको सम्बृद्धिको मार्ग चित्र कोरिन्छ’ उहाँले भन्नुभयो ‘बिपक्षी मित्रहरु धमिलो पानीमा माछा नमारे हुन्छ, जनताले खुसीको स्वास फेर्न पाउनेछन’

कार्यक्रममा नेकपा पर्वतका सचिब सुदिप कुवँरले नेपाली जनताको बिश्वासलाई कुनै पनि हालतमा मर्न दिदैनौ भन्नुभयो । नेपाली कांग्रेसका जिल्ला सदस्य डा. चुडामणि शर्माले जनताले कम्युनिष्ट पार्टीलाई बिश्वास गरेपनि जनताको बिश्वास पुरा गर्न नसकेको आरोप लगाउनुभयो ।

शुभकामना आदनप्रदान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरु, समाजसेवी, ब्यबसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी सबैको उपस्थिति रहेको छ । नेकपाका नेता कार्यकर्ताहरु गाउँगाउँबाट पनि शुभकामना आदनप्रदान कार्यक्रममा उपस्थित भएका थिए ।