श्री लालीगुराँसले मनायो २१औं वार्षिकोत्सव


नेपाल समाचारपत्र, ललितपुर

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २१औ वार्षिकोत्सव मनाएको छ। संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवम् प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रवि शम्सेर थापाले केक काटेर वार्षिक उत्सव मनाइएको सहकारीले जनाएको छ।

सो अवसरमा प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१औं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजना अगाडि बढाउँदै लैजाने बताउनुभयो।

उहाँले भविष्यमा संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने भन्दै भन्नुभयो–‘संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको, संस्थाले आफ्नो लगानीमा देशकै सर्वाधिक ठूलो गाई फार्म सञ्चालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्थामार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको, ३६ जिल्लामा सदस्य सुविधा सञ्चालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेका छांै।’

संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ। त्यस्तै ९७आंै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो। ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउन्टर सञ्चालन गरिसकेको संस्थाले चालू वर्षभित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगन्ज, भक्तपुरको सूर्यविनायक, चितवनको पर्सा र भरतपुर, गोरखा, पोखरा र हेटांैडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ।

संस्थाले आफ्ना शेयर सदस्यलाई प्रभावकारी ढंगबाट सेवा सुविधा उपलब्ध गराइरहेको मात्र नभई तीन सयभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराइरहेको जनाएको छ। संस्थाका कार्यकारी निर्देशक भण्डारीले संस्थाले सहकारीको ऐन, नियम र मापदण्ड अनुसार नयाँ योजना अघि बढाउने बताउनुभयो। २०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई असोज १५ गतेबाट कारोबार शुरु गरेको थियो।

ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, नयाँबानेश्वर शंखमुलमा लालीगुराँस मावि/कलेज, चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोक लार्चामा भैरवकुण्ड हाइड्रोपावरलगायत क्षेत्रमा लगानी गरेको संस्थाले जनाएको छ। संस्थाले २०७६ भित्रै श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्न निर्माण कार्य अगाडि बढाएको छ। अत्याधुनिक गाई फार्ममा हाल करिब ५ सय गाई रहेका छन्।

संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालीगुराँस माविमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए। सोही अवसरमा निःशुल्क स्वाथ्य शिविर समेत सञ्चालन गरेको थियो।