अमेरिका–तालिवान शान्ति वार्ता पुनः शुरू गर्ने पहल


इस्लामावाद,(एजेन्सी)। अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमी खलिलजान पाकिस्तान पुगेका छन्। तालिवानका सहसंस्थापक तथा मुख्य शान्ति वार्ताकार मुल्ला अब्दुल गनी बरादरको नेतृत्वमा तालिवान प्रतिनिधि मण्डलसँग सम्भावित बैठक गर्न उनी इस्लामावाद पुगेका हुन्।

खलिलजादको यो यात्रा केही दिनअगाडि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको यात्रा गरेपछि भएको हो। यस क्रममा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेर अफगानिस्तानमा शान्ति बहाल गर्ने दिशामा वार्ता पुनः थाल्नेलगायत अन्य मुद्दामा चर्चा गरेका थिए।

खलिलजादले न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको सत्रमा सहभागी हुनका लागि आएका प्रधानमन्त्री खानसँग पनि भेटवार्ता गरेका थिए। उनीहरूले तालिवानसँगको वार्ता पुनः शुरू गर्ने विषयमा विचार आदान–प्रदान गरेका थिए।

अमेरिका र तालिवान शान्ति योजना मस्यौदामा सहमत थिए तर गत महिना काबुलमा एक आत्मघाती हमलामा एक अमेरिकी सैनिकको हत्या भएपछि राष्ट्रपति ट्रम्पले वार्ता प्रक्रिया रद्द गरेका थिए।

उक्त आत्मघाती हमलाको जिम्मेवारी तालिवानले लिएको थियो। अन्तिम चरणमा पुगेको शान्ति पक्रिया रद्द गर्ने ट्रम्पको घोषणाले पूरै विश्व स्तब्ध पारेको थियो।

उनले तालिवानसँगको अफगान शान्ति वार्ता अन्त्य भएको बताएका थिए। उनले वासिङ्टन नजिक क्याम्प डेविडमा तालिवान र अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग हुन भनिएको गोप्य बैठक पनि रद्द गरेका थिए।

तालिवानका प्रवक्ताले मुल्ला बरादरको नेतृत्वमा अफगान तालिवानका एक प्रतिनिधि मण्डल बुधबार पाकिस्ताको यात्रामा हुने र उनीहरूको काम शान्ति प्रक्रियालाई पुनः मार्गमा ल्याउनु रहेको जानकारी दिएका थिए।

प्रतिनिधि मण्डलले कयौं महत्वपूर्ण मुद्दामा पाकिस्तानी अधिकारीहरूसँग वार्ता गर्ने प्रवक्ता सुहेल शाहिनले सामाजिक सञ्जालमा घोषणा गरेका छन्।

गत महिना अमेरिकासँगको शान्ति वार्ता अवरुद्ध भएपछि बरादरले चीन, रुस र इरानको यात्रा गरिसकेको शाहिनले ट्विटमा लेखेका छन्।इस्लामावाद पुगेका खलिलजादले पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसी र सेना प्रमुख जनरल कमर जावेद बाजवासँग भेटवार्ता गर्ने बताइएको छ।

उनले तालिवान प्रतिनिधि मण्डलसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको जनाइएको छ। विगत १८ वर्षदेखिको अपगान गृहयुद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र तालिवानबीच वार्ताको पहल भइरहेको हो।