धुन्चे–पोखरा बस सेवा सञ्चालन


रसुवा, (नेस)।पर्यटन वर्ष–२०२० लाई सफल बनाउन मंगलबारबाट पहिलो पटक रसुवाको सदरमुकाम धुन्चेदेखि पोखरासम्म बस सेवा सन्चालनमा आएको छ।

टिमुरे यातायात प्रालि र पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको सहकार्यमा सो बससेवा सञ्चालनमा आएको हो। पवित्र तीर्थ गोसाईंकुण्ड तथा लामटाङ क्षेत्र र तामाङ सम्पदा मार्गको भ्रमण सहज र सरल बनाउने उद्देश्यले धुन्चेदेखि पोखराको लेकसाइडसम्म नियमित बस सञ्चालन गरिएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवं बस सञ्चालक समितिका सल्लाहकार सन्जीव अमात्यले जानकारी दिनुभयो।

अमात्यका अनुसार मंगलबार रसुवा हुँदै पोखरा जाने बससेवाको गोसार्इंकुण्ड गापा अध्यक्ष कैसाङ नुर्पु तामाङ र नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले संयुक्तरूपमा रिवन काटी शुभारम्भ गर्नुभएको हो।

उहाँले दैनिक बिहान ७ बजे धुन्चेबाट पोखराको लागि एउटा र बिहान ६ः४५ बजे पोखराबाट धुन्चेका लागि एउटा बस छुट्ने बताउनुभयो। बस सन्चालनले हिमाली प्राकृतिक छँटाको अवलोकन गर्न आन्तरिक एवम बाह्य पर्यटकलाई सहज हुनेभएको छ।