एसिड आक्रमणपीडित मुस्कानलाई अमिताभको सन्देश

0
Shares

एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई बलिउड सुपरस्टार अमिताभ बच्चनले एक भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका छन्।

खातुनको उपचारमा सहयोग गरिरहेका उज्वलविक्रम थापामार्फत अमिताभले उक्त भिडियो सन्देश पठाएका हुन्।
भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाएपछि दुःख लागेको बताएका छन्।‘तपाईंमाथि भएको घटनाबारे मलाई उज्वलले बताए।

तपाईंलाई जे भयो, त्यो निकै दर्दनाक घटना हो। थाहा पाएर दुःख लाग्यो।’ –सन्देशमा अमिताभले भनेका छन्। मुस्कान हिम्मतवाली बालिका भएको चर्र्चा गर्दै उनले भनेका छन्– ‘तपाईंको नाम अति सुन्दर छ।

मुस्कानको अर्थ राम्रो हुन्छ, तपार्इंको अनुहारमा निरन्तर मुस्कान छाइरहोस्।’ अमिताभले भिडियोमार्फत अबदेखि कुनै पनि बालिकामाथि यस्तो घटना नदोहोरियोस् भन्ने कामनासमेत गरेका छन्।

उनले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने अपेक्षा गर्दै भनेका छन्– ‘तपाईंलाई छिट्टै निको होस्, मेरो शुभकामना छ।’

यसअघि उनलाई बलिउड नायक वरुण धवन र नायिका कृति सानोनले पनि खातुनलाई भिडियो सन्देश पठाउँदै स्वास्थ्यलाभको कामना गरेका थिए। उनीहरूले निको भएपछि मुस्कानसँग भेट्ने वाचासमेत गरेका छन्।

मुस्कानलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउने प्रयास गर्दा उनले नमानेपछि ती युवाले मुस्कानको अनुहारमा एसिड छ्यापेर भागेका थिए। उनको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।