चिरञ्जीवी मास्के, दोलखा।सुरक्षित यात्राको लागि सवारी चालकलाई जिम्मेवार बनाउने उदेश्यसहित ट्राफिक प्रहरीले शुरू गरेको तीन दिने चालक सम्मान कार्यक्रममाको क्रममा दोलखामा ८७ जना सवारी चालकलाई सम्मान गरिएको छ।
‘सडक सभ्य हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ भन्ने नाराका साथ शुरू गरिएको चालक सम्मान कार्यक्रममा बाहिरबाट जिल्ला भित्रेका तथा जिल्लाबाट बाहिर जान लागेका ८७ वटा सवारी साधनका चालकलाई फूलमालासहित सम्मान गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रहरी जवान जगदीश कार्कीले बताउनुभयो।
चालक सम्मानको क्रममा सवारी चालकलाई समय समयमा सवारी साधनको जाँच गर्ने, यात्रुहरूको संख्या, नाम, ठेगानाको अभिलेख राख्ने, सवारी साधनको गन्तव्य, लाग्ने समय, रोकिने स्थान आदिको बारेमा प्रस्थान गर्नु अघि नै यात्रुहरूलाई जानकारी गराउने, यात्रुसँग मित्रवत व्यवहार गर्ने, सवारी साधनको गति समिति गर्ने, यात्रुको सामानको सुरक्षाको प्रबन्ध मिलाउने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने जस्ता विषयमा जानकारी गराइएको ट्राफिक प्रहरी जवान कार्कीले बताउनुभयो।
सो क्रममा यात्रुलाई समेत सवारी साधनमा यात्रा गर्नु पूर्व आफ्नो सामानको बारेमा चालक तथा सहचालकलाई जानकारी गराउने, चालक, सहचालकले मादक पर्दाथ सेवन गरेको देखे तुरुन्तै प्रहरीलाई खबर गर्ने, गाँडीबाट झर्दा दाँया बाँया हेरेरमात्र बाटो काट्ने, छतमा चढेर यात्रा नगर्ने, पाकेटमारदेखि सावधान रहने, सवारी साधनबाट अनावश्यकरूपमा शरीरको कुनै भाग बाहिर ननिकाल्न आग्रह गरिएको थियो।
चालक सम्मानको क्रममा दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले यात्रालाई सुरक्षित र मर्यादित बनाउन चालक, सहचालक तथा यात्रुहरू सबै जिम्मेवार र इमान्दार हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपाल, प्रहरी सहायक निरीक्षक चन्द्रमान तामाङलगायतको सहभागिता रहेको थियो।चालक सम्मानको क्रममा १ हजार ६ सय यात्रुको गुनासोसमेत सम्बोधन गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ।











प्रतिक्रिया