सात मुख्यमन्त्रीका साथ प्रधानमन्त्रीको फोरजी भिडियो कन्फ्रेन्स


नेपाल समाचारपत्र, काठमाडौं। नेपाल टेलिकमले फोरजी र एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख शहरहरूमा विस्तार गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत बुधबार फोरजीको औपचारिक शुरुआत गर्नुभएको हो।
उद्घाटनका क्रममा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच फोरजी प्रयोग गरेर भिडियो कन्फ्रेन्स गरिएको थियो।

प्रधानमन्त्री ओलीले मुलुक विकासका क्षेत्रमा तीव्र गतिमा अघि बढेको दाबी गर्दै भन्नुभयो– ‘हामी दिन प्रतिदिन नयाँ–नयाँ काम गरेर इतिहासमै उल्लेखनीय काम गरिरहेका छौं।

नेपाल टेलिकमको फोरजी सेवा त्यस्ता काममध्येको एक हो।’यस क्रममा मुख्यमन्त्रीहरूले सरकारले निकै ठूलो सफलता हात पारेको भन्दै खुसी व्यक्त गरेका थिए।

नेपाल टेलिकमको फोरजी शुभारम्भ कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको सरकारले अगाडि सारेको नारा ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिमा फोरजी सेवाले टेवा पुग्ने बताउनुभयो।

जानकारी गराइएअनुसार फोरजी इन्टरनेटको यसको प्रयोगपश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियोलगायतका नवीनतम सेवाहरूको प्रवाह पनि सहज हुनेछ।

मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरू र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछ।

विस्तारित फोरजी र एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिनेछ ।

हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी र एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै बस्तीमा सेवा पुर्याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ।

फोरजी सेवा विस्तार भएपछि सेवाग्राहीले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ। यसअघि नै मोबाइलका उपभोक्तालाई प्रदान गरिएका केही अलटाइम डाटा अफरमा शतप्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार ग्राहकले जम्मा २५ रुपियाँमा ४ सय एमबी डाटा पाउने छन्। यसअघि टेलिकमले २५ रुपियाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो। यो प्याकेज लिएको २४ घन्टासम्म प्रयोग गर्न सकिनेछ। 

यसै गरी जम्मा १ सय रुपियाँमा सात दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५ सय एमबी डाटा प्याकेज फोरजी एलटीईका सेवाग्राहीलाई थप ५ सय एमबी डाटा बोनसस्वरूप प्राप्त हुनेछ।

नेपाल टेलिकमले देशमै पहिलोपटक २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी र एलटीई सेवाको शुरुआत गरेको थियो।

सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता भएका थिए। यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क एक र नेटवर्क दुईका लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको थियो।