असईको कमान्डमा रोशनीलाई सुरक्षा


काठमाडौं, (नेस)।सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको भनेर चर्चामा आएकी रोशनी शाहीको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षकको कमान्डमा एउटा टोली परिचालन गरेको छ।

संसद् सचिवालयको स्वास्थ्य शाखामा अनमी पदमा कार्यरत शाहीले विवादास्पद अभिव्यक्ति दिएपछि प्रहरीले उनको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेको हो।

उनले डिप्रेसनको औषधि सेवन गर्ने गरेकाले जे पनि हुन सक्ने भन्दै उनको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो।

केही समयअघि बिष सेवनसमेत गरेकाले शाहीको सुरक्षामा ध्यान दिनुपर्ने भएकाले प्रहरी टोली परिचालन गर्नुपरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले शाहीको मेडिकल परीक्षणका लागि पटक–पटक आग्रह गरेको भए पनि उनले मेडिकल गर्न नजाने अडान लिएकी थिइन्।

प्रहरीले उक्त घटनाबारे के भएको हो भनेर अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरेको भए पनि शाहीले कहिले के कहिले के भन्ने गरेकाले समस्या आएको प्रहरीले जानकारी दिएको छ।

शाहीले कहिले महरा आफ्नो कोठामा आएको बताउने कहिले आउँदै नआएको बताउने गरेकाले अनुसन्धान प्रभावित भएको ती अनुसन्धान अधिकारीले जानकारी दिएका छन्।

सरकारले पार्टीमाथि नै कलङ्क लगाउने खालको हर्कत महराबाट भए नभएको बारेमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि प्रहरीको टोलीले विभिन्न कोणबाट अनुसन्धान शुरू गरेको थियो।

प्रहरीले सभामुख महराको गाडी कति खेर गएको थियो भनेर सीसीटिभी फुटेजसमेत हेरेको छ। पीडित भनिएकी शाहीको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको थियो।

कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त वानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत खटिएका थिए। पछिल्लोपटक बयान फेरेकी शाहीको हर्कत नै शंकास्पद भएको प्रहरीले जानकारी दिएको छ।