भष्टाचार रोक्न जनतालाई चेतनशील बनाउनुपर्छः पूर्वप्रधानमन्त्री चन्द


न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नागरिक सचेत भएमात्र भ्रष्टाचार रोक्न सकिने बताउनुभएको छ ।

‘मिसन नेपाल’ नामक संस्थाको आयोजनामा आज काठमाडौँमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उहाँले अहिलेको अवस्था हेर्दा भ्रष्टाचार नरोकिने स्थिति देखिएकोसमेत उल्लेख गर्नुभयो । अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड खर्च गर्छ, यस्ताे अवस्थाले भ्रष्टाचार नराेकिने पूर्वप्रधानमन्त्री चन्दले बताउनुभयाे ।

चन्दले भ्रष्टाचार रोक्न जनतालाई चेतनशील बनाउनुपर्नेमा जोड दिनुभयो । मुलुकमा समावेशी अवधारणालाई अर्कैरुपमा व्याख्या गरिएकामा चिन्ता प्रकट गर्दै उहाँले एकता र मानवता कायम गर्ने गरी समान अवसर प्रदान गर्नु नै समावेशी हो भन्दै अहिले व्यक्तिव्यक्ति बीचको फुट ल्याउने गरी समावेशीतालाई प्रयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकलाई परिवर्तन गर्न स्वतन्त्ररुपमा संस्था खोलेर जनतालाई सचेत बनाउने प्रयास थालिएको छ ।’ मिसन नेपालका अध्यक्ष केपी शर्माले  भन्नुभयो । सो क्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो ।