चाडपर्वका बेला नागरिकको सुरक्षार्थ प्रहरी थप सक्रिय हुनुपर्छः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल


न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा नागरिकको जिउधनको सुरक्षार्थ प्रहरी कर्मचारीहरु थप सक्रिय रुपमा खटिनुपर्ने बताउनुभएको छ ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयका प्रमुख र कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत आवाञ्छित गतिविधि नियन्त्रण गर्नकै लागि प्रहरीको आवश्यकता र महत्व हुने चर्चा गर्दै नागरिकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि र अप्रिय घटना नहुने गरी थप उत्कृष्ट कार्य सम्पादन गर्न प्रहरी महानिरीक्षक खनालले निर्देशन दिनुभयो ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग समन्वय गरेर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरी नमूना संगठन बताउनुपर्नेमा जोड दिनुभयो ।

हरेक प्रहरी कर्मचारीको बोली, वचन र व्यवहारमा विवेकशीलता झल्कनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सकारात्मक सोच, गर्वको भावना र उर्जाकासाथ कार्य सम्पादन गरी प्रहरीले राष्ट्र र नागिरकको सेवा गर्न पाएको अवसरको पूर्ण सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साथै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट १,२ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिनुभएको छ ।