अब नेपाल–अस्ट्रेलियाबीच सिधा हवाई उडान


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली विद्यार्थीहरूको एउटा प्रमुख गन्तव्य रहेको अस्ट्रेलियाले नेपालसँग सीधा हवाई उडान सुरु गर्न लागेको घोषणा गरेको छ।

अस्ट्रेलियाका उपप्रधानमन्त्री तथा यातायतमन्त्री माइकल म्याकोरम्याकको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै दुई देशबीच भएको हवाई सेवासम्बन्धी सम्झौताअनुसार सीधा उडान सुरु गर्ने योजना अघि बढाइएको जनाएको हो।

नेपालका वायुसेवा प्रदायकलाई पनि आफ्नो देशमा उडान गर्न दिने घोषणा अस्ट्रेलियाले गरेको छ।

दुई देशबीचको सीधा हवाई सम्पर्कले पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा थप अवसरहरू निम्त्याउने अपेक्षा अस्ट्रेलियाको सरकारले गरेको छ।

अस्ट्रेलियाका उपप्रधानमन्त्री म्याकोरम्याकले सीधा उडान गर्न सकिने क्षेत्रमा भए पनि प्रत्यक्ष हवाई सम्पर्क सञ्जालमा नजोडिएको अस्ट्रेलियाको सबैभन्दा ठूलो बजार नेपाल भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उक्त सहमतिअनुसार अस्ट्रेलियाली वायुसेवाले काठमाण्डूमा हप्ताको सातवटासम्म सीधा उडान भर्न पाउनेछ।

नेपाली विमानहरुले सिड्नी, मेल्बर्न, ब्रिस्बेन र पर्थमा एक हप्तामा सातवटासम्म उडान गर्न पाउने बताइएको छ ।