सन् २०२१ को लागि डीभी खुल्यो, अब पासपोर्ट नम्बर पनि चाहिने


न्युज अफ नेपाल, काठमाडौं ।

सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अक्टोबर २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत डीभीको लागि आवेदन खोलेको हो ।

डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन ।

डीभी भर्न चाहनेले तोकिएको समयभित्र डीभीका लागि आदेवन भर्न सक्नेछन् ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ । तपाईंलाई डीभी पर्यो यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।

तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्ने भनि सूचनामा उल्लेख गरिएको छ ।