चार छोरा गुमाएकी एक वृद्धालाई उपमहानगरपालिकाले सहयोग गर्ने

पीडितको घर बनाइदिने प्रतिवद्धता


न्युज अफ नेपाल, हेटौंडा ।

आन्दोलनमा छोरा गुमाएकी एक वृद्धालाई उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्नो चार गुमाएकी हेटौंडा–९ की करिब ७० वर्षीया सुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको हो ।

मंगलबार दर्नालको निवास पुगेर उपमहानगर मेयर हरिबहादुर महतले दर्नालका लागि सबै प्रकारका सहयोगको प्रतिवद्धता जनाउनुभएको हो । १८ वर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्बासी बस्तीमा बस्दै आउनुभएकी उहाँलाई मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले दशैंका लागि आवश्यक सबै खर्च उपलब्ध गराइने प्रतिवद्धता पनि जनाउनुभयो ।

‘यिनै आमाजस्ताका छोराछोरीकै बलिदानीमा हामी स्थानीय सरकार प्रमुख भएका कारण शहीद परिवारका बलिदानीको हामी उपेक्षा गर्न सक्दैनौं,’ मेयर महतले भन्नुभयो । उहाँले सुभद्राको बस्ने, खानेसहित औषधी उपचारको समेत व्यवस्था गरिदिने र नातिनीको जीविकोपार्जनका लागि सहयोग गरिने बताउनुभयो ।

सोही बस्तीको स्वागत टोल विकास संस्थाकी सदस्य बिन्दा लामाले मेयर महतको प्रतिवद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो घरमा कोही नेता नआउँदा मेयर आएर पीडा सुनिदिएको भन्दै दर्नालले खुशी व्यक्त गर्नुभयो । पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले पत्रकारकै खबरका कारण सहयोग पाउनु ठूलो कुरा भएको बताउनुभयो ।

सुभद्राका जेठा छोरा काजी र माइला भक्त २०४६ सालको आन्दोलनमा बेपत्ता भएका थिए भने काइँला अमृत र कान्छा रञ्जित माओबादी जनयुद्धमा बेपत्ता भएका हुन् । साइँला छोराको बिरामी भएर निधन भएको हो । उहाँका पति नेत्र दर्नालको करिब दशकअघि निधन भएको थियो ।

‘मलाई दशैं त दशैं बनेर आएजस्तै लाग्दैन,’ उहाँ भन्नुहुन्छ । उहाँलाई रोगले च्यापेको छ । विहान÷बेलुका खाने अन्न त छैन नै, कमाउन सक्नुहुन्न । झन् चाडवाडमा अरुका छोरा आउँदा मुटुमा भक्कानो पर्ने गरेको पीडा उहाँले पोख्नुभयो ।

बुढेसकालमा सहारा देलान् भन्ने छोराहरु नै मारिएपछि उनलाई हाल सहयोगीको आश लागेको छ । उहाँ रोगी हुनुहुन्छ । उहाँलाई हालसम्म हेटौंडाबाट प्रसारण हुने हेटौंडा एफएमले तीजको दिन पाँच हजार सहयोग गरेको सम्झना छ । त्यही दिन मकवानपुरकै एक व्यवसायीबाट पाँच हजार सहयोग पाउनुभएको थियो । त्यो पैसा औषधीमा खर्च भएको दुई हजार बचाएर दशैंका लागि चालम किनेको उहाँ सुनाउनुहुन्छ ।