महरा सरमाथिको आरोपमा सत्यता छैन : रोशनी शाही

बोलेको कुरालाई पत्रकारले बङ्ग्याएर लेखिदिए


न्युज अफ नेपाल ,काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जबर्जस्ती करणी’को गम्भीर आरोप लगाएकी रोशनी शाहीले बयान फेरेकी छन् । संसद सचिवालयमा कार्यरत कर्मचारी शाहीले सभामुख महराले आफूमाथि कुनै प्रकारको दुर्व्यवहार नगरेको बताएकी छन् ।

उनले कर्मचारी समायोजनको क्रममा आफूले चाहेको ठाउँमा नपर्दा रिसले सभामुख माथि गलत आरोप लगाएको बताएकी छन् । यस्तै उनले डिप्रेसनको औषधी सेवन गरिररहेको बताएकी छन् ।लामो समयदेखि भेटघाटसमेत नभएका सभामुख महरा आइतबार बेलुका आफ्नो कोठामा आएको कुरा पनि गलत भएको उनले बताइन् ।

आफ्नो बुबा सरहको मानिसलाई रिसको झोंकमा गलत आरोप लगाएको शाहीले स्वीकार गरेकी छन् । सभामुख महरामाथि लगाएको आरोप रिसको झोकमा बोलेको बताउदै शाहीले उक्त कुरामा कुनै सत्यता नभएको बताएकी छन् । आफूले बोलेको कुरालाई पत्रकारले बंगाएर लेखिदिएको शाहीले आरोप लगाएकी छन् ।

फोनको विषयमा बोल्दै शाहीले आफूलाई महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको कारण नआत्तिन भनेर फोन गरेको बताएकी छन् । यसका साथै महराले फोनमा चिकित्सकदेखि सबैको समायोजन मिलाउन प्रयास गर्ने बताएको शाहीले जनाएकी छन् ।

आमाको निधनपछि विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका कारण यस्तो गल्ती हुन गएको शाहीले बताइन् ।