कंकेश्वरी कराँते सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं। पाँचौं कंकेश्वरी खुला अन्तरविद्यालय ऐकायन कराँते प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा पुरुष ३० केजीमुनि सजन तामाङले शिशिर पुनमगरलाई हराएर पहिलो भए। संगम थपलियाले तेस्रो स्थान हासिल गरेका थिए।

३५ केजीमुनि गगन राउत, सुदीप मगर र छेम्जुङ लामाले क्रमशः शीर्ष तीन स्थान हासिल गरे। यस्तै ४० केजीमुनि रिजन पौडेलले पहिलो स्थान हात पार्दा नारायण लामाले दोस्रो स्थानमै चित्त बुझाए। अनिश भुषाल तेस्रो स्थानमा रहेका थिए।

यसै गरी ४५ केजीमुनि मनीष श्रेष्ठले सजाय राईलाई फाइनल प्रतिस्पर्धामा हराएका थिए। रविन तामाङ तेस्रो स्थानमा रहेका थिए। ५५ केजीमा अजिस राईले मनीष राईलाई फाइनलमा पराजित गरेका थिए। राज श्रेष्ठ तेस्रो स्थानमा रहेका थिए।

यस्तै महिलातर्फ ४० केजीमुनि पुसन लामाले फाइनलमा मनीषा लामालाई हराएर पहिलो भइन्। रोजीना लामाले तेस्रो स्थान हासिल गरेकी थिइन्। यसै गरी ५० केजीमुनि मनीषा ढकालले पहिलो स्थान हासिल गरेकी थिइन्। उनले फाइनलमा दीक्षा राईलाई पन्छाएकी थिइन्। सो तौल समूहमा रीना ढकाल तेस्रो भइन्।

प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गर्नुभएको थियो। मेयर शाक्यले स्वास्थ्यका लागि खेलकुद निकै आवश्यक रहनुका साथै खेलकुदबाट विश्वमा राष्ट्रलाई चिनाउने माध्यम रहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘खेलाडीले जिते देशले जित्ने भएका कारण प्रत्येक खेलाडीले अनुशासित भएर देशका लागि पदक जित्ने खेलाडी बन्नुपर्छ।’