अमेरिकी राष्ट्रपतिविरुद्ध महाअभियोग प्रकरण:विसलब्लोअरलाई भेट्न पाउनुपर्ने ट्रम्पको दाबी


वासिङ्टन, (एजेन्सी)।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मामिलामा आफूविरुद्ध महाअभियोग लगाउन सहयोग गर्ने सुराकी तथा सूचना बाहिर ल्याउने विसलब्लोअरसँग भेट्न चाहेको बताएका छन्।

गत जुलाई २५ मा युक्रेनका राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीसँग ट्रम्पको वार्ता सार्वजनिक भएपछि विवाद शुरू भएको थियो। त्यसपछि अमेरिकी राष्ट्रपतिविरुद्ध महाअभियोगको आधिकारिक प्रक्रिया पनि शुरू भएको हो।

ती विसलब्लोअरले उक्त वार्ताको आधारमा अगस्टमा ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्दै अमेरिकी चुनावमा आफ्नो फाइदाका लागि विदेशी शक्तिको प्रयोग गरिरहेको आरोप लगाएका थिए।

उक्त वार्तामा ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग सन् २०२० राष्ट्रपति चुनावमा आफ्ना प्रतिद्वन्द्वी जोय बाइडेन र उनका छोरा हन्टरविरुद्ध भ्रष्टाचारको मामिलामा जाँच गर्न दबाबपूर्ण आग्रह गरेका थिए।

ट्रम्पले पछिल्ला आफ्ना ट्विटमा उनीमाथि आरोप लगाउने कथित विसलब्लोअरसँग भेट्न चाहेको उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपतिले ट्विटमा भनेका छन्– ‘हरेक अमेरिकीले जस्तै म पनि ममाथि आरोप लगाउने व्यक्तिसँग भेट्न पाउने अधिकारी राख्छु।

विशेष गरी त्यति बेला जब यो आरोप लगाउने आफैं एक विसब्लोअर हुन्, जसले विदेशी प्रतिनिधिसँग भएको वार्तालाई पूर्णरूपमा गलत र कपटपूर्ण तरिकाबाट प्रस्तुत गरे।’

यसैबीच राष्ट्रपति ट्रम्पले विधायक एडम सिफलाई देशद्रोहको आरोपमा गिरफ्तार गर्नुपर्ने बताएका छन्।ट्रम्पले महाअभियोग जाँचको नेतृत्व गरिरहेका सिफमाथि पनि कांगे्रेससमक्ष झूटो बोलेको आरोप लगाए।

ट्रम्पले भने– ‘उनले निर्भिकरूपमा यो विशाल चेम्बरमा झूटो बोले, त्यस्तो त अहिलेसम्म कसैले बोलेकै छैन होला। उनले नचाहिने कुराहरू पढे र लेखे, फेरि भनें यो अमेरिकाको राष्ट्रपतिको भनाइ हो। धोकाघडी र देशद्रोहको मामिलामा सिफसँग उच्चस्तरको सोधपुछ होस् भन्ने म चाहन्छु।’

यसबीच ट्रम्पका निकट सहयोगीले राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने डेमोक्र्याट्स फैसलामाथि निसाना साँध्दै राष्ट्रपति एक इमानदार विसब्लोअर भएको बताए। ट्रम्पका सल्लाहकार स्टिफन मिलरले भने– ‘अमेरिकाका राष्ट्रपति आफैं विसलब्लोअर हुन्। युक्रेनको एक भ्रष्टाचार काण्डको जरासम्म पुग्नु अमेरिकाको राष्ट्रिय हितमा छ।’

यसै गरी ट्रम्पका निजी वकिल रुडी गिलियानीले पनि बाइडेनविरुद्ध जाँच गर्नलाई नभन्नुले संविधान उल्लंघन हुने बताए। डेमोक्र्याटिक पार्टीले ट्रम्पविरुद्ध षड्यन्त्र रचिरहेको उनले आरोप लगाए।

अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख नेन्सी पेलोसीले गत मंगलबार ट्रम्पविरुद्ध महाअभियोगको आधिकारिक प्रक्रिया शुरू गरेको घोषणा गरेका थिए।