घर्तीमगर र खत्रीको जोडी पहिलो


पर्वत, (नेस)। पर्वत मोदीकाली ब्याडमिन्टन संघ कुस्माको आयोजनामा सम्पन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा कृष्णबहादुर घर्तीमगर र लोकबहादुर खत्रीको जोडी पहिलो भएको छ।

विजयादशमीको पूर्वसन्ध्यामा सोमबार आयोजित प्रतियोगिताको सिनियरतर्फ घर्तीमगर र खत्रीको जोडीले हरिओम लामिछाने र नुनबहादुर थापाको जोडीलाई २–० सोझो सेटमा हराएर पहिलो भएको हो।

जुनियरतर्फ छविलाल सुवेदी र सुरज बस्नेतको जोडीले यामनाथ पौडेल र दयाराम अधिकारीको जोडीलाई २–० सेटमै हराएर पहिलो भयो।

प्रतियोगितामा सिनियरतर्फ १० र जुनियरतर्फ ९ वटा जोडीले प्रतिस्पर्धा गरेको पर्वत मोदीकाली ब्याडमिन्टन संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुनील भुषाललले जानकारी दिनुभयो।