प्रेसमाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप


नेपाल समाचारपत्र, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेसमाथि हस्तक्षेप गरेर निरंकुशता ल्याउन खोजेको आरोप लगाउनुभएको छ।

सभापति देउवाले रेडियो नेपालको दीपायल कार्यालयमा कामबाट हटाइएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गर्नुभयो।

नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं ३ ले सोमबार आयोजना गरेको दशैं तथा दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने दाबी गर्नुभयो।

सभापति देउवाले रेडियो नेपालको दीपायल कार्यालयमा कामबाट हटाइएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गर्नुभयो।

उहाँले नेपालका आदिवासी–जनजातिमध्ये मगर समुदायको जनसख्या सबैभन्दा बढी भएकाले सोहीअनुसार कांग्रेसले प्राथमिकतामा राखेको बताउनुभयो।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधीले सत्तापक्षकै निर्देशनमा कांग्रेसका नेता तथा कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाउँदै घटनाका अपराधीलाई कारबाही नगरे कांगे्रस चुप लागेर नबस्ने चेतावनी दिनुभयो।

महामन्त्री डा. शशांक कोइरालाले ठूलो संघर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गर्नुभयो।

साथै उहाँले कांग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर संघका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सुदृढीकरण र एक ढिक्का हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।