नेपाल मण्डल पर्यटन नागरिकको दशैं कार्यक्रम


काठमाडौं, (नेस)। संस्कृतिविद् एवं भाषारत्न सत्यमोहन जोशीले संगीत विश्वले बुझ्ने अन्तर्राष्ट्रिय भाषा भएको बताउनुभएको छ। नेपाल मण्डल पर्यटन नगरीले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४०, छठ पर्वको अवसरमा आयोजना गरेको ‘जुगलबन्दी सांगीतिक साँझ एवं शुभकामना सांगीतिक चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

कार्यक्रममा नेपाल मण्डल पर्यटन नगरीका अभियन्ता कृष्ण केसीले राजधानीमा केही कुराको अभाव छैन तर मान्छे मान्छेको भीडले गर्दा अस्तव्यस्त भएको बताउनुभयो।

नेपालको समृद्धिको परिकल्पनालाई यस अभियानले सघाउने छ, अभियानको सफलताको लागि बलियो इच्छाशक्तिको आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुकमांगत कट्वालले सबै नेपाली चेतनशील छन्, देशको समृद्धिका लागि असल नेपाली भएपुग्ने बताउनुभयो।

नेपाल मण्डल पर्यटन नगरीका अभियन्ता इन्द्र लामाको सभापतित्वमा आयोजित कार्यक्रममा भ्रष्ट्राचार विरोधी अभियन्ता, कालो सूर्य पुस्तकका लेखक भरत जङ्गमले भष्ट्राचार विरोधी आन्दोलनमा सिंगै जीवन अर्पीसकें कुनै बेला म एक्लै पर्छु कि भन्ने पनि लाग्थ्यो भन्नुभयो।

नेकपाका काठमाडौं नगर कमिटीका अध्यक्ष निर्मल द्यौला, नेचुरल थेरापिस्ट डा. राजेन्द्र केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।