भीआईपीका लागि भवन बनाउँदै सरकार


ललितपुर, (नेस)। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सैंबु आवास क्षेत्र, भैंसेपाटीमा शिलान्यास गर्नुभयो।

कुल २७ रोपनी १२ आना जग्गामा ९७ करोड ११ लाखको लागतमा आगामी दुई वषभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो।

‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीनतले दुई भवन गरी कुल १४ अत्याधुनिक र सुबिधा सम्पन्न भवन बन्नेछ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताउनुभयो।

उहाँले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पुर्याउने बताउनुभयो।

उहाँले अगाडि भन्नुभयो– ‘हरेक दिन नेपाल एक कदम अगाडिको नारा मैले दिएको छु। ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुने छ। गैरमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरू थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहने छ।

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो भवन निर्माणमा पारदर्शिता र गुणस्तरीयता अपनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शुरू गरेको सघन तराई कार्यक्रमबाट अहिले तराईका हरेक जिल्ला सदरमुकाममा मुहार परिवर्तन भएको बताउनुभयो।