फोहोरमैला व्यवस्थापनमा मोबाइल एप्स


काठमाडौं, (नेस)। शहरी क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि तयार गरिएको मोबाइल एप्लिकेसन ‘नेपाल वेस्ट म्याप’ र वेव ड्यासबोर्ड सार्वजनिक गरिएको छ।

वेस्ट म्याप फोहोर व्यवस्थापनका लागि बनाइएको डिजिटल प्रणाली हो। जसबाट जनसहभागिता सँगसँगै सरोकारवालाबीच सहकार्य र सञ्चारको विकास गराउन सकिन्छ।

यस्तो प्रविधिको सहयोगमा योजना सुधार, स्रोत निर्धारण र फोहोर व्यवस्थापन प्रणालीको मूल्यांकन गर्न पनि सहयोग पुग्ने बताइएको छ।

गैर सरकारी संस्था क्लिन अप नेपालले द एसिया फाउन्डेसन र डेभेलपमेन्ट इनिसिएटिभ्ससँगको साझेदारीमा एप्स र ड्यासबोर्ड तयार गरेको हो।

यस्तो विधि सोमबार काठमाडौं महानगरपालिका (कामपा)को वातावरण व्यवस्थापन विभाग, वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग, कामपाका विभिन्न वडाका प्रतिनिधि, फोहोरमैला व्यवस्थापनमा संलग्न विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति माझ सार्वजनिक गरियो।

दुई वर्षअघिदेखि कामपा–३, ५, र ३२ वडामा कार्यान्वयनमा रहेको एप्स र ड्यासबोर्ड काठमाडौंका अन्य वडामा पनि विस्तार गर्ने तयारी गरिएको क्लिन अप नेपालका कार्यक्रम संयोजक कोसिसकुमार अर्यालले बताउनुभयो।

इलाम नगरपालिकामा यसअघि नै अभ्यासमा आएको यस्तो विधिलाई भरतपुर महानगरपालिकामा पनि कार्यान्वयनमा ल्याउने गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो।