कुलेश्वर आवास संस्थाको साधारणसभा सम्पन्न


काठमाडौं, (नेस)। कुलेश्वर आवास परिवार कल्याण संस्थाको २८औं साधारण सभा हालै सम्पन्न भएको छ। प्रदेश नम्बर ३ का सांसद अजयक्रान्ती शाक्यले कार्यक्रमको उद्घाटन गर्दै संस्थाले गरेको सराहनीय कार्यको प्रशंसा गर्दै कुलेश्वर आवास क्षेत्रलाई प्राथमिकताका साथ विकास गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

सोही अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले संस्थाले गरेको कार्यको कदर गर्दै नेपालको विकासका लागि नेपाली नै अगाडि बढ्नुपर्ने बताउनुभयो।

काठमाडौं महानगरपालिका १४ की अध्यक्ष शोभा सापकोटाले विकास निर्माण कार्यमा सहकार्य गर्दै जाने बचन दिनुका साथै वडाबाट गरिनुपर्ने कुनैपनि कार्य सम्बन्धित व्यक्ति आफैं उपस्थितभै
आत्मीयताका साथ आफ्नो काम सम्पन्न गराउन सहभागीको ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रममा अध्यक्ष लोकनाथ पोखरेलले प्रगति प्रतिवेदन पढेर सुनाउनुभएको थियो। साथै उहाँले विकासका लागि सबैको एकता र सकृयता हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मीनाथ श्रेष्ठ, कुलेश्वर आवास माविका प्रिन्सिपल मेघराज दुलाल, संस्थाकी सल्लाहकार पञ्चकुमारी मानन्धर, सहभागिका तर्फबाट संस्थाका सल्लाहकार पुरुषोत्तम श्रेष्ठ लगायतका बक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो