नेपाललाई बदनाम हुनबाट रोक्न आग्रह


काठमाडौं, (नेस)। नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दीपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारको पूनर्बहाली तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ।

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले रेडियो नेपाल दीपायल प्रसारण केन्द्रबाट निष्कासन गरिएका पत्रकारको पुनर्बहाली गर्नुका साथै सम्पूर्ण सञ्चार माध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सांकेतिकरूपमा विरोध गरिएको बताउनुभयो।

उहाँले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन भए नभएको बारेमा महासंघले असोज १० गतेदेखि विभिन्न सञ्चारमाध्यममा गएर अनुगमन गरी सञ्चालकलाई ऐनको कार्यान्वयनका लागि दवाव दिएको बताउनुभयो।

यसैगरी महासंघका उपाध्यक्ष दिलिप थापामगरले १० वर्षसम्म काम गरेका पत्रकारलाई निष्कासन गरी आफ्ना कार्यकर्ता भर्ती गरेका कारण महासंघ आन्दोलनमा उत्रिएको बताउनुभयो। उहाँले निष्कासित पत्रकारलाई तत्काल पुनर्बहाली नगरिए महासंघ कडा आन्दोलनमा जान बाध्य हुने बताउनुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले निष्ठापूर्वक काम गरिरहेका पत्रकारलाई निष्कासन गरेपछि शुरू भएको आन्दोलन ४० दिन बितिसक्दासमेत सुनुवाइ नभएको बताउनुभयो। उहाँले श्रमजीवी पत्रकार ऐन विपरीत निष्कासन गरिएको भन्दै निष्कासित पत्रकालाई बिना सर्त पूनर्बहाली गर्नु पर्ने बताउनुभयो।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको अवस्थाबारे अन्तर्राष्ट्रय संघ संस्थाले नेपालमै आएर नेपाल सरकार तथा विभिन्न निकायसँग भेटेर अध्ययन गरिरहेको भन्दै नेपाललाई बदनाम हुनबाट रोक्न सरकारलाई आग्रह गर्नुभयो।

नेपाल पत्रकार महासंघ, रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष दुर्गा फुयाँलले महासंघको आन्दोलनमा रेडियो नेपाल कर्मचारीको तर्फबाट ऐक्यबद्धता रहेको बताउनुभयो। उहाँले निष्कासित पत्रकारको पूनर्बहाली नभएसम्म आन्दोलन जारी राख्नुपर्ने बताउनुभयो।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले श्रमजीवी पत्रकारलाई व्यवस्थित गर्नुपर्नेमा सरकारले निष्कासन गरेर लोकतन्त्र तथा मानवीयताको हिसाबले त्रुटि गरेको बताउनुभयो। उहाँले पत्रकारलाई निष्कासन गरी अपमान गरेको भन्दै क्षतिपूर्तिसहित पूनर्बहाली गरिनुपर्ने धारणा राख्नुभयो।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले देशको लोकतान्त्रिक आन्दोलनमा पत्रकारको भूमिका महत्वपुर्ण हँुदाहँुदै पनि सरकारले पत्रकारहरूलाई पटक पटक दुःख दिइरहेको बताउनुभयो।

हाँले निष्कासित पत्रकारको पूनर्बहाली गर्नुका साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि महासंघको आन्दोलनमा सधै साथ रहने बताउनुभयो।