दुबई दुर्घटनामा ६ नेपालीको मृत्यु


काठमाडौं, (नेस)।युनाइटेड अरब इमिरेट्सको दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ।

स्थानीय समयअनुसार बिहान ५ बजे सेक्युरिटी ग्रुपको मिनीबस लरीसग ठोक्किएको थियो। दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ। दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरूको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावास स्रोतले बताएको छ।

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ। घाइतेको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ।