नेपाल भ्रमण वर्षको तयारी गर्दै कर्णाली सरकार   


न्युज अफ नेपाल, सुर्खेत

‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ कार्यक्रम तयारीका लागि कर्णाली प्रदेश सरकारले आजदेखि छलफल शुरु गरेको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको अध्यक्षतमा बसेको बैठकले ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ कार्यक्रम तयारीको छलफल शुरु गरेको हो । भ्रमण वर्षलाई सफल र सुखद बनाउन प्रदेशको नीतिगत सुधार, पाहुनालाई दिन सकिने सेवा तथा छुट सुविधा, संरचना निर्माण र २०२० जनवरी १ नेपाल भ्रमण वर्षको शुभारम्भ दिनका बारेमा छलफल भएको जनाएको छ ।

छलफलमा मन्त्री बुढाले भ्रमण वर्षलाई सफल बनाउन कर्णाली तथा भेरी करिडोरको पुलको निर्माण सम्पन्न गर्न, पहाडी जिल्लाका लागि हेलिकप्टर तथा नेपाल एयरलायन्सलाई कर्णाली केन्द्रित गर्न, कर्णालीका २१ मध्ये चार हिमाल मात्र आरोहणको अनुमति पाएकाले साहसिक पर्यटकका निम्ति थप हिमालको आरोहणको अनुमति दिन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताउनुभयो ।

“नेपाल भ्रमण वर्षमा हामीले एक लाख पर्यटक भित्र्याउछौँ”, उहाँले भन्नुभयो, “अहिले नै धेरै सङ्ख्यामा पर्यटक भित्र्याउँछौँ भनेर ठूलो कुरा गर्न आवश्यक छैन ।” कर्णाली तथा भेरी करिडोरका सडकको मर्मतका लागि प्रदेशस्तरले पनि आवश्यक काम थाल्ने, सडक निर्माणका ठूलो आयोजना सम्पन्नका लागि केन्द्रीय सरकारलाई आग्रह गर्ने पनि मन्त्री बुढाले बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले भ्रमण वर्ष शुभारम्भको तयारी तथा मनाउनका लागि सबैलाई आह्वान गरिने बताउनुभयो । प्रमुख सचिव भण्डारीले भन्नुभयो, “हामी यहाँका सबै सरोकारवालासँग छलफल, गोष्ठी, समन्वय र सहकार्य गरेर भ्रमण वर्षको भव्य तयारी गर्छौैैं । कर्णालीका पर्यटकीय गन्तव्यको महत्व र विशेषताको उजागर गरिने उहाँले जनाउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले आज भएका नीतिगत निर्णय पारितका लागि मन्त्रिपरिषद्मा प्रस्तावका लागि लैजाने बताउनुभयो । यहाँको मन्त्रिपरिषद्ले पारित गरेका निर्णयअनुसार प्रदेश सरकारले काम गर्ने र यहाँबाट सम्पन्न हुन नसक्ने कामका लागि सङ्घीय सरकारमा अनुरोध गरिने उहाँको भनाइ छ ।

मन्त्रालयका पर्यटन शाखाका शाखा अधिकृत अञ्जु चौधरीले राष्ट्रिय पहिचान बोकेका कर्णालीका २० पर्यटकीय क्षेत्रसँगै कर्णाली प्रदेश सरकारले पहिचान गरेका १०१ पर्यटकीय क्षेत्र सम्मिलित प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

अधिकृत चौधरीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार पर्यटन आगमन सर्वेक्षण २०७५ र अध्यागमन विभाग काठमाडौँको तथ्याङ्कमा कर्णालीमा बाह्य पर्यटक २१ हजार २९१ र आन्तरिक पर्यटक चार लाख ५४ हजार ८६४ आएको देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा आउने पर्यटकको सेवासुविधामा छुट दिने सवालमा उद्योगी, व्यापारी र होटल व्यवसायीसँग छलफल गर्ने जानकारी दिनुभयो । राराताल, से–फोक्सुण्डो ताल, पचाल झरना, कैलाश मानसरोवर पुग्ने पर्यटकको सुरक्षा, सडक सहजतामा सरकारको आवश्यक ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

भ्रमण वर्ष सफल पार्नका लागि प्रदेश सरकारले पर्यटनमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा नयाँ समिति गठन गरेको छ । त्यसैगरी प्रादेशिक पर्यटन प्रवद्र्धन समितिअन्तर्गत, प्रचारप्रसार विभाग, होटल ट्राभल तथा ट्रेकिङ विभाग, मानवसंशाधन तथा व्यवस्थापन आर्थिक, पर्यटन उत्पादन तथा सांस्कृतिक विभाग र सचिवालय गठन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

रासस