जुवातास नखोल्नुस नत्र दशैं तिहार प्रहरी हिरासतमा मनाउनुपर्ला


न्युज अफ नेपाल, पर्वत ।

ठूला चाडबाड नजिकिए संगै पर्वतमा चाडबाड लक्षित सुरक्षा कार्ययोजना सार्वजनिक गरिएको छ । जिल्ला सुरक्षा समितिले चाडबाड लक्षित सुरक्षा कार्ययोजना सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

चाडबाडमा हुन सक्ने जुवातास, झै-झगडा, चोरी, लुटपाट, सवारी साधनमा महंगो भाडा लिने र बढी यात्रु बोक्ने, दुर्घटना न्युनीकरण जस्ता बिषयलाई निरुत्साहित गर्ने उद्देश्यले सुरक्षा कार्ययोजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । जुवातास बढी खेल्ने गरिएको गुनासो आउने र पक्राउ पर्नेहरुलाई दबाब र प्रभाबका आधारमा छाडिने गरेको बिषयमा प्रशासन तथा प्रहरी निर्मम बन्ने उहाँको भनाई छ । जुवातास तथा चोरी र झैझगडा रोक्नका लागि पर्याप्त मात्रामा सादा पोशाकका प्रहरी परिचालन गरिएको उहाँले जानाकरी दिनुभयो । ‘जुवातास खेल्नेलाई पक्राउ गर्ने हाम्रो चाहना छैन’ प्रजिअ नेपालले भन्नुभयो ‘अटेर गरि खेल्नुभयो भने दशैं तिहार प्रहरी हिरासतमै मनाउनुहुन्छ’

सुरक्षा योजना अन्र्तगत सवारी साधनहरुको चेकजाँचमा कडाई गरिएको छ भने कुस्माबजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । तोकिएको भन्दा बढी भाडा लिने र क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई काबार्ही गरिने प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

कुस्मा, वारीबेनी, मिलनचोक, डिमुवा, फलेबास, हुवास, लुंखु, कार्किनेटामा राजमार्ग तथा ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनहरुको नियमित चेकजाँच गरिने र आवश्यकता अनुसार छड्के चेकिङ्ग समेत गर्ने ब्यबस्था मिलाइएको छ । ‘क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना भई चाडबाड मनाउन हिडेकाहरु शोकमा डुब्ने अबस्था नआओस भनेर प्रहरी सतर्क छ’ उहाँले भन्नुभयो ।

दशैं तिहारमा गरिने मेलाहरु समेत प्रशासनको स्विकृति लिएर मात्रै सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभयो । गाउँगाउँमा हुने लुटपाट, झैझगडा हुन नदिन प्रहरीले लामो गस्ती समेत गरिरहेको छ । शसस्त्र प्रहरीको समेत सहयोगमा ग्रामिण क्षेत्रमा गस्ती बढाइएको छ ।

सुरक्षा दशैं, तिहार जस्ता चाडबाडमा कालोबजारी हुने, अखाद्यय बस्तु बिक्री गरिने तथा माछा मासु समेत बिक्रीमा लापाबार्ही हुने भएकाले बजार अनुगमन प्रभाबकारी बनाइएको छ । कुस्मा, वारीबेनी, डिमुवा, पातीचौर, हुवास लगायतका बजार क्षेत्रमा बजार अनुगमन गरिने भएको छ ।