नाकामा सशस्त्रको हेल्पडेस्क


किरन धामी, दार्चुला ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाले जिल्ला सदरमुकाम खलंगाको घाटबजार स्थित नेपाल भारत जोड्ने झोलुंगे पुल छेउमा नागरिक सहायता कक्ष हेल्पडेस्क स्थापना गरेको छ । असोज १ गते स्थापना गरेको नागरिक सहायता कक्षबाट १० जनालाई विभिन्न समस्यामा सहयोग गरेको गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिनुभयो । दशै तिहारको बेला भारत संग सिमा जोडिएका जिल्लाबाट नेपाल भित्रिने तथा नेपाल भारत जाने नागरिकहरुको सहायताका लागी हेल्प डेस्क स्थापना गरिएको उहाले बताउनुभयो ।

डेस्कबाट विरामी भएर भारतका अस्पतालहरुमा जाने नेपाली नागरिकहरुले पुल खुल्ने र बन्द हुने समयका बारेमा सेवा लिएको उहाले बताउनुभयो । सिमा नाकामा हुने सक्ने चोरी डकैती, लुटपाट जस्ता कार्यलाई नियन्त्रण गर्न पनि सहायता कक्षले सहयोग गर्ने उहाले बताउनुभयो । दशै तिहारका बेला सिमा नाकाहरुमा अरु बेला भन्दा बढी आवत जावत हुने हुँदा दशै तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना गरिएको गुल्मपति विष्टले जानकारी दिनुभयो ।

नागरिक सहायता कक्षबाट सिमानाका बाट आवत जावत गर्ने नागरिकले दिनहु रुपमा सेवा लिइरहेको उहाले बताउनुभयो । यसैविच सशस्त्र प्रहरीले महाकाली नगरपालिका वडा नम्बर ४ आर्मी गेट नजिकैको खाली जग्गामा पिङ हालेको छ । दशै तिहारमा रमाइलोका लागी पिङ हालेको सशस्त्र प्रहरीले जनाएको छ ।