दशैका लागि उपत्यका भित्रिएका निरोगी खसीबोकाको सिङ्मा रङ्ग लगाउन शुरु


ईश्वरराज ढकाल, काठमाडौं ।

दशैका लागि काठमाडौं ल्याइएका निरोगी खसी—बोका, भेडा—च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग लगाउन शुरु गरिएको छ । आज बिहान महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ नेतृत्वमा पशु सेवा बिभाग, वाणिज्य तथा आपूर्ति बिभाग, खाद्य तथा गुण नियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित कलंकी खसी बजार पुगेर रङ् लगाउन शुरु गरिएको थियो । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठ, पशु सेवा बिभागका महानिर्देशक डा. बंशी शर्मा र वडा १४ की अध्यक्ष शोभा सापकोटाले च्याङ्ग्राका सिङ्मा हरियो लगाउनुभएको थियो । मासुजन्य परिकारलाई स्वस्थ्य बनाउन महानगरपालिकाले पशु स्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीब्र बनाएको हो । यसै क्रममा कलंकीको चौपाया विक्री केन्द्रको निरीक्षण पनि गरियो ।

अनुगमन गर्ने उपप्रुख हरिप्रभा खड्गी श्रेष्ठले खाद्यबस्तुको उत्पादन, ढुवानी, भण्डारण र बिक्रीसम्मका सबै चरणमा खवरदारीको जरुरी देखाउँदै, मौसमी अनुगमनबाट बजार व्यवस्थापन गर्न झन जटिल भएको बताउनुभयो । बजार निरीक्षणका क्रममा चौपाया खरिद बिक्री सेवा संघ र काठमाडौं चौपाया खरिद बिक्री कम्पनीका अधिकारीसँग पशु उत्पादन हुने क्षेत्र, ढुवानी गर्ने बिधि, ढुवानीकर्ताका दुःख सुख , विक्री व्यवस्थापक र उपभोक्ताका सवालमा कुरा गरिएको थियो ।

काठमाडौंमा कुनै रोगी खसी बोका, भेडा च्याङ्ग्रा आउँछ भन्ने हामीलाई लाग्दैन । पशु स्वास्थ्यका बिषयमा टिप्पणी गर्दै पशु सेवा बिभागका महानिर्देशक डा. बंशी शर्माले भन्नुभयो– रोगी भेटिए ढुवानी हुनु अघि नै रोकिने गरेको बताउनुभयो । पशु ढुवानी गर्ने क्रममा बिरामी नदेखिएका तर बाटोमा आउँदा बिरामी परेका चौपायाको स्वास्थ्य अवस्था के हो भनेर काठमाडौंमा स्वास्थ्य परीक्षण गरिने हो, महानिर्देशक शर्माको भनाइ थियो ।

। चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले यो वर्ष काठमाडौमा ६५ हजार चौपाया आए भने कलंकीमा २५ हजार मात्र भित्रन्छन् । बाँकी बीचबाटोबाटै शहर पस्छन् । यसले खसीबो जाँच कलंकीमा गरेर मात्र पुग्ने देखिएन, उहाँको थप भनाइ छ — पसल पसलमा पुग्ने चौपायाको पनि कुरा गर्नुपर्छ । खसिबोका खरिद बिक्री कम्पनीका अध्यक्ष जनककुमार खड्काले चौपायाको एकीकृत बजार बनाउनुपर्छ , यसले गर्दा राम्रा र नराम्रा छुट्ट्याउन पनि सजिलो हुन्छ ।

महानगरले पशु सेवा बिभागसँग समन्वय गरेर अब स्वस्थ्य चौपायाको सिङ्मा हरियो र खान प्रयोग गर्न नमिल्ने खसीको सिङ्मा रातो रङ् लगाउनेछ । महानगरको कृषि तथा पशुसेवा बिभागका प्रमुख हरिबहादुर भण्डारीले यस पटक कलंकी, टुकुचा र गोङ्गवु बाइपास गरी ३ ठाउँमा खसी बजार लाग्नेछ । यहाँ आउने खसी बोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री प्रबन्ध मिलाइनेछ ।