मध्य पहाडी र बेनी –कोरल्ला सडक आयोजनामा बिकास समितिको चाँसो

मौसम र कठिन भूगोलका कारण निर्माण कार्य सुस्त


दुर्गाप्रसाद शर्मा, पर्वत ।

राष्ट्रिय महत्वका दुई सडक आयोजनाहरु मध्यपहाडी लोकमार्गको पोखरा – खण्ड र कालीगण्डकी करिडोर आयोजनाको बेनी–जोमसोम–कोरल्ला खण्डको प्रतिनिधीसभाको बिकास तथा प्रबिधी समितिले स्थलगत अनुगमन गरेको छ ।

उत्तर–दक्षिण अन्तरदेशीय व्यापार मार्गको रुपमा कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्ड र मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्ड विस्तारको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको बेला समितिकी सभापति कल्याणी खड्का सहितको टोलीले अनुगमन गरेको हो ।

समितिले कठिन भूगोल र प्रतिकूल मौसमका कारण कामले गति लिन नसकेको निष्कर्ष समितिले निकालेको छ । मध्यपहाडी लोकमार्गको काम प्रतिकुल मौसमका कारण अघि बढ्न नसकेको र बेनी–जोमसोम कोरल्ला खण्डमा मौसम संगै कठिन भूगोल भएका कारण निर्माण कार्य सोचे अघि बढ्न नसकेको समितिकी सभापति कल्याणी खड्काले बताउनुभयो । सडक अनुगमन पछि पर्वतमा भएको अन्तरकृया कार्यक्रममा सभापति खड्काले मौसम, कठिन भूगोल र केही नितीगत समस्याका कारण समयमा नै काम हुन नसकेको देखिएको बताउनुभयो । ‘कठिन भूगोल र प्रतिकुल मौसमका कारण काम गर्न कठिन भएको देखियो’ उहाँले भन्नुभयो ‘केही नितीगत समस्याका कारण पनि काममा ढिलाई भैरहेको छ, यसलाई करेक्सन गर्नुपर्छ’

नेपाल भ्रमण बर्षमा पर्यटकको रोजाईमा पर्ने पोखरा देखि मुस्ताङ्ग सम्म जाने सडक र अन्य भौतिक पुर्बाधार निर्माणको अबस्था हेर्नका लागि समिति आएको सभापति खड्काले बताउनुभयो । भ्रमण बर्ष सफल बनाउन पक्की सडक नै सम्पन्न गर्नुपर्ने अबस्था भएपछि स्थलगत अवलोकनका क्रममा समस्या देखिएकोले अब सहज हिसाबले यात्रा गर्ने वातावरण मिलाउन निर्देशन दिनुभयो । करिडोरको उपल्लो मुस्ताङ्गको समर भिर र ध्याकरको भीरमा समस्या भएपनि त्यसलाई सहज बनाउन आयोजना कार्यालयलाई निर्देशन दिनुभयो ।

बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्ये बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज र जोमसोम–कोरला खण्डको १ सय १० किमिलाई ११ प्याकेज बनाई सडक विस्तारको काम भइरहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामन प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । बेनी देखि जोमसोमको ३५ किलोमिटर क्षेत्रमा सडक कालोपत्रे गर्नुपर्ने भएपनि पहिरोका कारण सामान्य मर्मत गरेर बस्नुपरेको र अन्य क्षेत्रमा भने काम सन्तोषजनक भएको बताउनुभयो । गत बर्ष हिउँदर हिमपात भएको र बर्षा याममा निरन्तर बर्षा भएका कारण दुई महिना पनि राम्रो संग काम गर्ने वातावरण बन्न नसकेको भनाई उहाँको थियो । ‘म्याग्दी खण्डमा भूगोलकै कारण पनि काम गर्न कठिन छ’ उहाँले भन्नुभयो ‘मुस्ताङ्ग खण्डमा केही स्थानमा बाहेक सडक निर्माण कार्य सहज रुपमा नै अघि बढेको छ’

बेनी–जोमसोम खण्डमा ७ मिटर कालोपत्रे सहित ११ मिटर चौडा सडक २०७६ पुसभित्र तयार पार्नेगरी २ अर्ब ४९ करोडमा ठेक्का सम्झौतासहित काम भइरहेको छ । त्यसैगरी जोमसोम–कोरला १ सय १० किमिमा ७ मिटर ग्राभेलसहित ११ मिटर चौडा सडक निर्माण गर्न २ अर्ब ५० करोडको लागतमा ठेक्का गरिएको छ । पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी सम्म यस बर्ष झण्डै एक अर्ब रुपैंयामा सडक बिस्तारको ठेक्का लगाउने तयारी भैरहेको छ ।

यस्तै मध्यपहाडी लोकमार्गको पोखरा देखि पर्वतको मालढुंगा खण्डमा ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिएको हो । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोश्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किलोमिटरलाई तेश्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमि) लाई अर्काे खण्डमा बाँडेर मर्मतसम्भार र बिस्तार गर्न थालिएको छ ।

जिरो किलोमिटरदेखि फेदी सम्म र पर्वतको कुस्माबजार खण्डमा २ किलोमिटर ६ लेनको सडक तयार हुनेछ । निरन्तरको बर्षाका कारण काम गर्न नसकिएको लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेर गोबिन्द भुसालले बताउनुभयो । पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सडक निर्माणका क्रममा देखिएको अवरोध हटाउँदै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको काम अगाडी बढाउन सहयोग गरिरहेको बताउनुभयो ।