विप्लव कार्यकर्ताको आक्रमणमा परी गाउँपालिकाका अधिकृत घाइते


न्युज अफ नेपाल, मुगु । नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताको कुटपिटबाट मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । घाइते हुनेमा सुर्खेतको चिनगाड १ स्थायी घर भएका सोरु गाउँपालिकाका अधिकृत ३५ वर्षीय परशुराम उपाध्य रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गरेका उपाध्यलाई सोमबार बिहान नौ जनाको समूहमा आएका विप्लव कार्यकर्ताले बेहोस हुने गरी आक्रमण गरेका थिए ।उपाध्यको टाउको र शरीरमा गहिरो चोट लागेको चिकित्सकले बताएका छन् । उपाध्यलाई बचाउन जाँदा सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीमाथि पनि कुटपिट भएको छ ।

घाइते उपाध्यको जिल्ला अस्पतालले टाउकोमा ११ वटा टाँका लगाएर थप उपचारका लागि नेपालगञ्‍ज रिर्फर गरेको प्रहरीले बताएको छ ।उनलाई उपचारका लागि गृह मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरबाट नेपालगञ्‍ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।