कृषि तथा पशु सेवा विभागका प्राविधिकहरुले निकालेको जुलुसमाथि प्रहरीकाे हस्तक्षेप


न्युज अफ नेपाल, काठमाडाैं ।

कृषि तथा पशु सेवा विभागअन्तर्गतका प्राविधिकहरुले निकालेको जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ।

२०७२ साल देखि एक गाउँ एक प्राविधिक रूपमा करारमा कार्यरत तीन हजार कृषि तथा पशु सेवा प्राविधिकलाई सरकारले हटाएपछि पुनर्वहालीको मागसहित उनीहरु आन्दोलन गर्दै आइरहेका छन्।

आज (सोमबार) उनीहरुले निकालेको विरोध जुलुस थापाथली चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी तितरवितर बनाएको थियो। केही आन्दोलनकारी घाइतेसमेत भएका छन्।

अर्थ मन्त्रालयको गत भदौ २९ को निर्णय अनुसार उनीहरुलाई पदमुक्त गरिएको थियो । असोज ५ गतेदेखि उनीहरुले आन्दोलन सुरु गरेका हुन्। त्यसक्रमा उनीहरुले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना समेत दिदैं आएका छन् ।

अर्थमन्त्रालयको निर्णय खारेजीको माग गरेका उनीहरुले शान्तिपूर्ण आन्दोलनको सुनुवाई नभए कडा आन्दोलनको घोषण गर्ने चेतावनीसमेत दिएका छन्।