अब छिट्टै भिखारीमुक्त नेपाल घोषणा गरिन्छः प्रधानमन्त्री ओली


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए ।

उनले सडकमा कोही बेसहारा देखिए खबर गर्न आग्रह गरेका छन्। सरकारले बेसहरा नागरिकलाई उचित व्यवस्था गर्ने बताउँदै प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिने बताए।

खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’

प्रधानमन्त्री ओलीले देशमा केही पनि भएको छैन भनेर निराशा फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए।

विकास निर्माणको कामलाई सरकारले तीव्रता दिए पनि ती कामहरूको चर्चा नभएको उनको भनाइ छ।

‘केही मानिसहरूले केही पनि भएको छैन भनेर निराशा फैलाउन खोजे, भएका कामहरूको चर्चा नगर्नु एकथरी प्रवृत्ति छ,ु उनले भने, ‘ नन इस्युलाई इस्यु बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ।’

ओलीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण गरिएको भन्दै सरकारले विकासलाई प्राथमिकतामा राखेको बताए।

मेलम्ची खानेपानी आयोजनाका काम ठेकेदार भागेका कारण केही ढिलाइ भए पनि अब छिट्टै आयोजनाको काम सकिने उनले बताए।