घरआँगनमै भत्ता पाउँदा ‘बा–आमा’ दंग


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
दशैंको मुखैमा घरआँगनमै बृद्धभत्ता पाएपछि बलेफी गाउँपालिका १ का ज्येष्ठ नागरिकमा खुसियाली छाएको छ । वडा कार्यालयमा धाएरै भत्ता लिँदै आएका उनीहरुलाई वडाध्यक्ष मधु थापाले घरमै आएर भत्ता दिए । आँगनमै भत्ता पाउँदा खुसी भएका पहिलेभन्दा बढेर भत्ता आएपछि ‘बा–आमा’ हरु दंग परेका छन् ।
‘भत्ता लिन जान नै दुख हुन्थ्यो, दशैंका बेला घरमै भत्ता पाईयो’, घरआँगनमै भत्ता पाएपछि बलेफी १ की ८१ बर्षिया चित्रकुमारी थापा भन्दैथिईन्,–‘सरकार खोज्दै जान्थ्यौं, अब त हामीलाई खोज्दै सरकार घरमै आइपुग्यो !’ घरमै भत्ता पाउँदाको खुसी त छँदैछ, पहिले भन्दा ४ हजार बढेर नगद १२ हजार रुपियाँ पाएपछि चित्रकुमारीको मुहारमा छुट्टै चमक देखियो ।

बलेफी १ का ७९ बर्षिय धर्मध्वज खड्काको मुहारमा वृद्धभत्ताले छुट्टै बहार ल्याइदिएको छ । घरआँगनमै भत्ता बुझ्न पाउँदाको खुसी प्रष्टै झल्किन्थ्यो उनको मुहारमा । वडाध्यक्षसहित कर्मचारीहरु घरैमा पुगेर उनलाई बृद्धभत्ता प्रदान गरे । यसअघि मासिक २ हजारका दरले भत्ता लिएका उनी यसपटक ३ हजारका दरले भत्ता पाउँदा मख्ख देखिन्थे । ‘भत्ता बढेर आयो, घरआँगनमै पाइयो’, उनले खुसी ब्यक्त गरे, ‘धन्य छ सरकार, हामीलाई यसैगरि हेरिरहोस ।’

ज्येष्ठ नागरिकलाई वडा कार्यालयमा आई भत्ता लिन असहज हुने देखेर गाउँटोमै पुगेर उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको वडाध्यक्ष मधु थापा बताउँछन् । ‘बृद्धबृद्धालाई वडा कार्यालयमा आइपुग्न कठिन छ, झोलामा भत्ता बोकेर घरआँगनमै लगिदियौं’, थापाले भने । वडाभित्रका पहिरे, बिप्लुङ, सिम्ले, जलविरे लगायतका बस्तीमा पुगेर १ सय ५४ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको उनले बताए ।

स्थानीय तहले यतिबेला पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता धमाधम वितरण गर्न थालेका छन् । वडाध्यक्ष र वडा कार्यालयका कर्मचारी टोलबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । केहिदिन अघि बलेफी गाउँपालिका ५ का वडाध्यक्ष विकास श्रेष्ठले पनि जनताका घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका थिए ।