महिला डबल्सको उपाधि नेपाललाई


नेपाल समाचारपत्र, काठमाडौं।अन्नपूर्ण पोस्ट नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनअन्तर्गत महिला डबल्सको उपाधि नेपालले जितेको छ। यस स्पर्धामा विदेशी खेलाडी सहभागी थिएनन्।

आइतबार कभर्ड हलमा भएको फाइनलमा नेपालकी पूजा श्रेष्ठ र नङ्सल तामाङको जोडीले जेसिका गुरुङ र अनुमाया राईको जोडीलाई २१–१५, २१–१६ ले हराउँदै उपाधि जितेको हो।

नेपालका नीता लम्साल र सीमा राजवंशी तथा सीता राई र सम्झना शर्माको जोडी तेस्रो भए।यस्तै मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट प्रतियोगितामा च्याम्पियन बनेका छन्। सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन्।

पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए। यस स्पर्धामा नेपालका प्रिन्स दाहाल र भारतका कात्तिकेय सुल्सान कुमार तेस्रो भए।

यसै गरी महिला एकलको फाइनलमा माल्विकाले भारतकै गायत्री गोपीचन्द पुलेलालाई २१–१४, २१–१८ ले स्तब्ध बनाईन्।

सेमिफाइनलमा पराजित भएकी चाइनेज ताइपेईकी यू चेह तेस्रो भइन्। गायत्रीले भने सेमिफाइनलमा जापानकी युरी नाकामुरासँग वाकओभर पाएकी थिइन्।