ताम्रकार फुटसलमा भैरवनाथ पहिलो


नेपाल समाचारपत्र, काठमाडौं। द ब्रिटिस कलेजको मुख्य प्रायोजन रहेको चौथो ताम्रकार फुटसल प्रतियोगिता–२०१९ मा भैरवनाथ आइरन इन्डस्ट्री पहिलो भएको छ।

ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा शनिबार भएको फाइनल खेलमा भैरवनाथ आइरनले विके सुन चाँदी पसललार्ई १–० गोलले हराएको हो।

विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे। दुवै टोलीले प्राप्त नगद पुरस्कार समाजको जेष्ठ नागरिक कोषलाई प्रदान गरेका थिए।सोही दिन भएको सेमिफाइनल खेलमा भैरवनाथले टेक म्याक्स टाइगरलाई १–० ले तथा विके सुन चाँदीले गत संस्करणका विजेता करुणामय मेटल क्राफ्टलाई टाइब्रेकरमा २–१ ले हराएर फाइनलमा पुगेका थिए।

यस्तै यू–१४ प्रतियोगिताको फाइनलमा ड्रागन ह्यान्डीक्राफ्टले सिटी ह्यान्डीक्राफ्टलाई २–० गोल अन्तरले पराजित गरी ट्रफी जित्यो। महिला खुला यू–१० तथा भेट्रान टिमको प्रदर्शनी खेल पनि भएको थियो। ताम्रकार अलस्टार र द ब्रिटिस कलेजबीच भएको मैत्रीपूर्ण खेलमा ताम्रकार अलस्टार ५–२ ले विजयी बन्न सफल भयो।

यही असोज ४ गते र ११ गते शनिबार सानेपास्थित फिल्ड फुटसल ग्राउन्डमा भएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा भैरवनाथका युमन ताम्रकार, उत्कृष्ट खेलाडीमा विके सुन चाँदीका दीप वाराही, उच्च गोलकर्तामा दिल ह्यान्डीक्राफ्टका लिउसन राजकर्णिकार र दिनेश ताम्रकार, भैरवनाथका आशिष ताम्रकार संयुक्तरूपमा प्राप्त गरे। त्यस्तै प्रेसिडेन्ट च्वाइसमा भैरवनाथका आशिष ताम्रकार घोषित भएका थिए। त्यस्तै अन्डर १४ को उत्कृष्ट खेलाडीमा सिटी ह्यान्डीक्राफ्टका रेहान वाराही भएका थिए।