साउदी नरेशका अंगरक्षकको गोली हानी हत्या


रियाद,(एजेन्सी)।साउदी अरेबियाका नरेश सलमानका अंगरक्षकलाई आपसी विवादको क्रममा उनका एक साथीले गोली हानी हत्या गरेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

शनिबार राति साथीलाई भेट्न जाने क्रममा जनरल अब्देल अजिज अल फाघाम नामक ती अंग रक्षकको मादोउ विन मेसाल नामक साथीसँग चर्को विवाद भएको प्रहरीले जनाएको छ।

विवादलगत्तै जेद्धाहस्थित सो घरबाट बाहिरिएका अली केही समयपछि बन्दुक लिएर फर्केको र उनले अब्देलमाथि अन्धाधुन्द गोली चलाएको बताइएको छ।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

यस घटनामा अन्य सात जना व्यक्ति घाइते भएका छन्। प्रहरीसमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेकाले अलीलाई पनि प्रहरीले घटनास्थलमै गोली हानेर मारेको छ।

घाइते हुनेमा ५ जना सुरक्षाकर्मी तथा बाँकी दुई जना सो साथीको परिवारका सदस्य रहेका छन्। साउदीमाझ जनरल अब्देल चर्चित व्यक्ति हुन्। स्वर्गीय नरेश अब्दुलको पनि निजी अंगरक्षक रहेकाले अब्देलको सलमानसँग निकटतम् सम्बन्ध रहेको थियो।

सन् २०१५ मा सलमानले ७९ वर्षको उमेरमा गद्दी आरोहण गरेका थिए। अधिकांशले उनका पुत्र युवराज मोमद विन सलमानसँग वास्तविक शक्ति र अधिकार केन्द्रित रहेको बताउँछन्।