ब्रक्जिट प्रकरण:बेलायती प्रधानमन्त्रीले माफी मागे


लन्डन (एजेन्सी)।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयबाट संसद् निलम्बित गराएकोमा माफी मागेका छन्। यसै हप्ता बेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्री जोनसनको उक्त कदमविरुद्ध फैसला सुनाएको थियो।

जोनसनले महारानी एलिजावेथलाई फोन गरी माफी मागेको सन्डे टाइम्सले जनाएको छ। ‘उनले फोनबाट ढिलो नगरी महारानीलाई सरी भने।’ –सूत्रले अखबारलाई बतायो।
बेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्रीको संसद् निलम्बन गर्ने निर्णय अवैधानिक भएको बताएका थिए। सर्वोच्च अदालतको यस फैसलापछि प्रधानमन्त्री र महारानीबीचको विश्वासमा प्रश्न उठेको थियो।

पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले जस्तै बोरिस जोनसनले पनि विश्वास गुमाएको रोयल प्यालेसको एक सूत्रले बताए। डेविड क्यामरुनमाथि पनि उनले महारानीसँग भएको वार्ता सार्वजनिक गरेको आरोप लागेको थियो। बोरिस जोनसनले पाँच महिनाका लागि संसद् स्थगित गर्ने फैसला लिएका थिए।

उनको उक्त फैसलाको विपक्षका नेता र उनकै पार्टीका केही नेताले समेत विरोध गरेका थिए।यस घटनापछि जोनसन आफूलाई सही ठहर्याउने प्रयासमा छन् र उनले ब्रक्जिटका लागि प्रतिबद्धता देखाइरहेका छन्।

बेलायती प्रधानमन्त्रीले ऊ ब्रसेल्ससँग कुनै सम्झौता वा बिनासम्झौता अर्को महिना युरोपेली संघबाट बाहिर निकाल्ने बताइरहेका छन्। जोनसनले आइतबार आफ्नो कन्जरभेटिव पार्टीका सांसदहरूलाई भेला गराए।

यो चुनावअगाडि पार्टीको अन्तिम सम्मेलन हुन सक्ने उनले बताए। उनले भने– ‘हामीलाई अगाडि बढ्नु आवश्यक छ। हामी अक्टोबर ३१ सम्म बे्रक्जिटबाट बाहिर हुनुपर्छ।’

यो उनले बोलाएको एक सम्मेलन हो, यद्यपि ब्रेक्जिटमा उनको कडा अडानले उनलाई हाउस अफ कमन्समा कठिनाइमा धकेलेको छ र उनले कयौं सांसद पनि गुमाएका छन्। यो सम्मेलन जोनसनका लािग र ब्रेक्जिटका लागि एक र्याली नै भएको क्विन मेरी युनिभर्सिटीका प्राध्यापक टिम बेलले बताए।

संसद् निलम्बन निर्णय खारेज भएको सर्वोच्चको फैसलापछि जोनसनले हाउस अफ कमन्सलाई बुधबार सम्बोधन गर्ने योजना बनाएका छन्। प्रधानमन्त्रीका रूपमा जोनसनको दुई महिनाको कार्यकाल संकटमा फसेको विज्ञहरूले बताएका छन्।