मध्यरातमा सहकारीमा चोरी

0
Shares

इलाम, (नेस)। इलाम सदरमुकाममा सञ्चालित आदर्श बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको छ। इलाम नगरपालिका–७ मालापथ नजिकै रहेको संस्थाको भवनबाटै रातको समयमा नगद चोरी भएको हो।

संस्थाको ढोका फोडेर राति करिब दुई बजेतिर नगद चोरी भएको हो। संस्थाका व्यवस्थापक याम प्रधानका अनुसार संस्थामा राखेको नगद ३ लाख ६० हजार रुपियाँ चोरी भएको छ।

संस्थाको कार्यालयभित्र रहेको दराजको ढोका खोलेर ब्यागमा राखिएको नगद चोरी भएको हो। पहिलेदेखि नै संस्थाको चाँबी कार्यालयभित्रै राख्ने गरेको बताइएको छ। संस्थाको कार्यालयभित्र रहेका ल्यापटप, कम्प्युटर तथा अन्य कागजपत्र भने चोरी नभएको बताइएको छ।

संस्थामा जडान गरेको सीसीटिभी फुटेजको आधारमा समेत चोरी गर्ने ब्यक्ति देखिए पनि नकाब तथा हातमा पन्जा लगाएर चोरी गरेकोले पहिचान गर्न मुस्किल भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

संस्थाका कर्मचारीले बिहीबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्र चोरी भएको थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रहरीले अनुसन्धान थालेको छ।