देशमा एकथरी तत्व अश्लिलता र असभ्यता फैलाउन सामाजिक संजालमा कुद्दै: प्रधानमन्त्री ओली


पुष्कर बुढाथोकी,भक्तपुर,(नेस)।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको समृद्ध नेपाल,सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबैको साझा प्रयास जरुरी रहेको बताउनुभएको छ ।

मानव सेवा आश्रम भक्तपुर शाखाको आज कौशलटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सम्पुर्ण देश बिभिन्न ढंगले यो अभियानमा समर्पित भएको बताउनुभयो ।

उहाँले समाजमा बिकृति बिसंगती फैलाउने मात्र नभई राष्ट्रिय र मानवीय भावनाले ओतप्रोत भएर कार्य गर्ने नागरिक र समाजको कमी नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशमा एकथरी तत्व अश्लिलता र असभ्यता फैलाउन सामाजिक संजालमा कुदेको बताउँदै त्यस्ता तत्वलाई समाजसेवा र सकारात्मक सोचमा ल्याउन अपरिहार्य रहेको बताउनुभयो ।

समृद्धि भए पनि सभ्यता भएन भने समाज असुरक्षित हुने भन्दै सरकारको ध्यान सुशासन,बिकास र भ्रष्टाचार नियन्त्रणमा रहेको उल्लेख गर्नुभयो ।सामाजिक सञ्जालमा विना कारण सरकारको आलोचना गर्नेहरु प्रति टिप्पणी गर्दै उहाँले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउनुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गर्नुभयो ।

विप्लव माओवादी र सडकबाट सरकारको विरोध गर्नेहरु तर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–“एकथरि चन्दा संकलन गर्न बम पड्काएर, टेलिफोनको टावरमा आगजनी गरेर, आतंक फैलाएर, मान्छे मार्दै हिडेका छन्, अर्कोथरि तत्व हावामा बेलुन उडेजस्तै हावामा कुर्लेर हिड्ने जमात पनि छ, समस्या नै नभएपनि नकारात्मक सोचाई राखेर अनावश्यक विषयमा सडक दिनैपिच्छे हल्ला गर्ने, जुलुस गरिरहेका छन्, तिनलाई पनि सडकबाट उद्धार गरेर देश निर्माणको काममा लगाउनु आवश्यक छ ।”

देशमा डेंगु फैलियो, त्यसलाई नियन्त्रण गर्न सबै लाग्नु पर्नेमा जुलुस लिएर सडकमा ओर्लिन्छन् भन्दै उहाँले भन्नुभयो–“यो जुलुस गर्ने विषयको हो, कि यो जुलुस लामखुट्टेले थाहा पाउँछ ?, सरकारको ध्यान यसमा गईरहेको छ , सरकारको ध्यान विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रणमा गएको छ, धमाधम भ्रष्टाचारी समातिएका छन् ।”

सडक मानव र बालबालिका मुक्त नेपाल बनाउन साझा प्रयास जरुरी रहेको उल्लेख गर्दै उहाँले बि.सं. २०७२ अघि नै यो अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमलाई रु एक करोड दिने घोषणा गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले सडक मानव मुक्त बनाउन सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा यसअघि नै अभियान संचालन भईसकेको र अब भक्तपुर जिल्लालाई नै असह्य, वेवारिसे, अनाथ, मनोरोगी मानव मुक्त घोषणा छिट्टै गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले देशलाई मानव मुक्त बनाउन गरेको घोषणालाई पुरा गर्न महानगरपालिका पूर्ण रुपमा साथ र सहयोग दिएर लागिरहेको बताउनुभयो ।कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले मानव सेवा आश्रमको लक्ष्लाई पुरा गर्न हरतरहले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हेटौडामा मुख्य कार्यालय बनाएर सुरु भएको संस्थाले हालसम्म मकवानपुर, चितवन, काठमाण्डौं, ललितपुर, भक्तपुर, कास्की, वाग्लुङ्ग, लमजुङ्ग, गोरखा लगायतका १४ जिल्लामा १६ वटा शाखा संचालन गरि सडकमा रहेको असाह्य, वेवारिसे, अनाथ, मनोरोगीहरुको उद्धार गरि आश्रय दिदै आएको बताउनुभयो ।

उहाँले अहिलेसम्म आश्रमले २ हजार भन्दा बढीको सडकबाट उद्धार गरेको, उद्धार गरिएका मध्ये ६०० को परिवारमा पुर्नमिलन गराएको र ५०० को आश्रममै मृत्यु भएको बताउदै २०८२ भित्रमा देशभरबाट सडक मानव मुक्त बनाउने लक्ष्य लिएर अभियान सुरु गरेको बताउनुभयो ।

सात वटै प्रदेश सरकारले ५०० जनाका दरले यस्ता सडक मानव राख्ने आश्रम निर्माण गरिदिएर अबको एकवर्षमा नै देशभर सडक मानव मुक्त बनाउने सकिने बताउनुभयो ।

कार्यक्रममा मानव सेवा आश्रमलाई रु. १० लाख सहयोग गर्ने वल्र्ड लिंक, हेटौडामा ३०० जना सडक मानव राख्न सक्नेगरि निर्माण भईरहेको आश्रमका लागि रु. २५ लाख प्रदान गर्ने काठमाण्डौं आईटम राउण्ड टेबल सेभेन, १२ सय थान ज्याकेट र कपडा प्रदान गर्ने सिटि एक्सप्रेस गु्रप, १ लाख १ हजार प्रदान गर्ने मिडसिटी अस्पताललाई सम्मान गरेको थियो । कार्यक्रमका सभापति एवं आश्रमका संरक्षक डा. गोविन्द टण्डनले मानवीय सेवामा सबैको साथ र सहयोगको आवश्यकता रहेको औल्याउनुभयो ।